काठमाडौं । कामना सेवा विकास बैंकले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले १ वर्षभन्दा माथिको मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याजदर दिने छ भने ६ महिनादेखि १ वर्षसम्मको मुद्दती निक्षेपमा ९.०१ र ३ महिनादेखि ६ महिनाको मुद्दती निक्षेपमा ८ प्रतिशत ब्याज दिने सूचना सार्वजनिक गरेको छ ।
कामना सेवा विकास बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर कतिपय वाणिज्य बैंकहरुको भन्दा कम छ । बैंकले निक्षेपमा विकास बैंकहरुमध्ये सबैभन्दा कम ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले ६ महिनादेखि माथिको संस्थागत निक्षेपमा ७.९९ प्रतिशत ब्याज दिनेछ भने रेमिट्यान्स मुद्दती निक्षेपमा १०.९९ प्रतिशत ब्याज दिनेछ ।
बचतमा भने बैंकले अधिकतम ८.५० देखि न्यूनतम ५.५० प्रतिशतसम्म ब्याज दिनेछ । एनआरएन बचत खातामा सबैभन्दा धेरै अर्थात् ८.५० प्रतिशत ब्याज प्रदान गर्नेछ भने शुभश्री बचत खाता र केएस पीएमएस सेभिङ एआउन्टमा ७.५० प्रतिशत ब्याज दिनेछ ।
सुभलाभ लगानी बचत खातामा ७.२५ र प्रिमियम सेभिङ एकाउन्टमा ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । केएस स्पोर्ट प्रिमियम सेभिङ एकाउन्टमा ५.६५ प्रतिशत र अरु सबैखाले बचत खातामा ५.५० प्रतिशत ब्याज दिनेछ ।
बैंकले कजाको ब्याजदर पनि सार्वजनिक गरेको छ । बैंकले फिक्स्ड व्यक्तिगत आवधिक कर्जामा १३.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने सूचनामा उल्लेख छ । बैंकले निक्षेपको ब्याजदर घटाउँदा आधार दर घट्न गई ऋणीलाई राहत दिने नीति लिएको देखिन्छ ।
मुद्दती निक्षेप धितो राखेर प्रवाह गरिने कर्जामा भने बेसरेटमा अधिकतम ३ प्रतिशत प्रिमियम थप गर्ने बैंकले जनाएको छ ।
विपन्न वर्गलाई दिने कर्जामा आधार दरमा अधिकतम ४ प्रतिशत प्रिमियम थप गर्ने छ भने अरु सबै प्रकारका कर्जामा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने भएको छ । बैंकको आधार दर १२.०६ प्रतिशत छ भने इन्ट्रेष्ट रेट अफ स्प्रेड ४.७८ प्रतिशत रहेको छ ।