काठमाडौं । बैंकहरूले अबदेखि आफै ब्याजदर निर्धारण गर्ने भएका छन् । बिहीबार बसेको नेपाल बैंकर्स संघ (एनबीए)को बैठकले अब बैंकहरूले स्वतन्त्र रुपले ब्याज निर्धारण गर्न पाउन सक्ने निर्णय गरेको संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए ।
बैठकले यस अघि हुँदै आएको भद्र सहमति अन्त्य गर्दै बैंकहरू आफैले ब्याज निर्धारण गर्ने सक्ने गरि निर्णय गरेको हो ।
यस अघि बैंकर्स संघले ब्याज निर्धारण गर्ने गरेकोमा अब भने बैंकहरुले राष्ट्र बैंकले दिएको सीमा भित्र रहेर आफै आवश्यकताका आधारमा ब्याज निर्धारण गर्ने छन् । यसो हुँदा बैंकहरुको ब्याज फरक फरक हुन सक्ने छ । यो व्यवस्था साउन १ देखि लागू हुने छ ।
अहिले साधारण मुद्दती निक्षेपको ब्याज दर ९.९९ प्रतिशत र र संस्थागत मुद्दतीको अधिकतम ब्याज ७.९९ प्रतिशत रहेको छ । अब बैंकहरुले चाहेमा यसको १० प्रतिशतका दरले घटाउन वा बढाउन सक्नेछन् ।
सरकारले व्यवसायिक कृषि तथा पशुपंक्षी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यवसायिक, भूकम्पपीडित निजी आवास, कपडा उद्योग सञ्चालन, सिटिइभिटीबाट मान्यताप्राप्त तालिम, युवा वर्ग स्वरोजगार कर्जामा ६ प्रतिशतसम्म ब्याजअनुदान दिँदै आएको छ ।