काठमाडौं । देशमा सञ्चालित वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको साउनदेखि असोज १५ गतेसम्म २ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरूले सो लगानी गर्दा निक्षेप भने ६० अर्बमात्रै संकलन गरेका छन् ।
असारमसान्तसम्म ४१ खर्ब २३ अर्ब रहेको बैंकहरूको निक्षेप असोज १५ गते आइपुग्दा बढेर ४२ अर्ब ४२ खर्ब १८ अर्ब पुगेको छ भने कर्जा ३७ खर्ब २१ अर्ब रहेको कर्जा प्रवाह आक्रामक रुपमा बढेर ३९ खर्ब ४२ अर्ब पुगेको छ ।
असोज महिनाको मात्रै तथ्यांक हेर्ने हो भने १५ गतेसम्म बैंकहरूले ७० अर्ब कर्जा प्रवाह गरेका छन् । यद्यपि चालु आवको साउन र भदौको तुलनामा असोज भने दैनिक ३ अर्बभन्दा बढीले निक्षेप संकलन भएको नेपाल बैकर्स संघको तथ्यांकले देखाएको छ ।
असोज १७ गतेसम्म बैंकहरूले ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । भदौमा ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले असोज दोस्रो सातासम्म कुल कर्जा लगानी ३९ खर्ब ४२ अर्ब रुपैयाँ पुर्याएका छन् ।
भदौ मसान्तसम्म कुल ४१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरूको साउनमसान्तमा भने यस्तो कर्जा प्रवाह ३७ खर्ब ६४ अर्ब रुपैयाँ रहेको थियो ।
पछिल्लो समय अधिकांश बैंकहहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमामा पुगिसकेका छन् भने कतिपयको सीमा पनि नाघिसकेको छ । यो अवस्थामा पनि बैंकको कर्जा लगानी भने बढिनै रहेको छ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह ३ गुणाभन्दा बढीले वृद्धि हुँदा वित्तीय बजारमा अहिले तरलतमा चाप परेको छ ।
यस्तै अवस्था रहने हो भने बैंकहरूले असोजपछि तरलताको चाप घट्ने भनेपनि बजारमा त्यो अवस्था रहँदैन र क्रेडिट क्रन्चको अवस्था आउन सक्छ । यसको व्यवस्थापनको लागि राष्ट्र बैंकले केही गर्नुपर्ने देखिएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा–पुँजी–निक्षेप (सीसीडी) खारेज गरेर सीडी रेसियोको व्यवस्था गरेको छ । राष्ट्र बैंकको नयाँ व्यवस्थाका करिब डेढ दर्जन बढी बैंकहरु थप कर्जा प्रवाह गर्न नसक्ने अवस्था पुगिसकेको स्वयम राष्ट्र बैंकले नै बताएको छ ।
राष्ट्र बैंकले बैंकको सीडी रेसियो ९० प्रतिशत हुनु पर्ने व्यवस्था गरेको थियो । सो व्यवस्था अनुसार हाल अधिकांश बैंकको ९० प्रतिशतको सीडी रेसियोको सीमा नाघेको छ । हाल बैंकहरुको औसत सीडी रेसियो ८८.१८ प्रतिशत रहेकोे छ ।