काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्ज भएर यहि असार २४ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । गत जेठ ८ गते सोमबार लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ ।
२५ पुसमा मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेका लक्ष्मी बैंक र सनराइज बैंक असार मसान्तभित्र एकीकृत कारोबार गर्नेगरी सोमबार मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको हो ।
दुई बैंक बराबरी हैसियतमा मर्जरमा जाने सहमति छ । सेयर आदान–प्रदान अनुपात (स्वाप रेसियो) १ः१ हुनेगरी मर्जरको अन्तिम सम्झौता भएको हो । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडबीच गाभ्ने/गाभिने प्रयोजनका लागि मूल्यांकनकर्ता एनबीएसएम एण्ड एसोसियट्सबाट प्राप्त दुवै संस्थाको सम्पति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन बमोजिम सिफारिस गरिएको सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो)को आधारमा १ः१ कित्ता सेयर प्रदान गर्ने सम्बन्धी प्रस्ताव दुबै बैंकको विशेष साधारण सभाले पारित गरेको छ ।
मर्जर पछि नयाँ बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक रहने सहमति भएको छ । मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्ष चयन गरी कार्य सम्पादन भइरहेको छ ।
नयाँ बन्ने बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड २ लाख ३८ हजार रुपैयाँ पुग्ने छ । हाल लक्ष्मी बैंकको ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार १ सय चुक्ता पुँजी रहेको छ भने सनराइज बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ९ सय रहेको छ ।
मर्जरपछि बैंकको कर्जा दुई खर्ब ४८ अर्ब रुपैयाँ पुग्नेछ । अहिले लक्ष्मीको एक खर्ब २९ अर्ब रुपैयाँ र सनराइजको एक खर्ब १९ अर्ब रुपैयाँ छ । त्यस्तै, निक्षेप दुई खर्ब ६५ अर्ब रुपैयाँ पुग्नेछ । अहिले लक्ष्मीको एक खर्ब ४० अर्ब रुपैयाँ र सनराइज बैंकको एक खर्ब २५ अर्ब रुपैयाँ रहेको छ ।