काठमाडौं । १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको सीआईबी टोलीले उनलाई नेपालगञ्जबाट पक्राउ गरेको हो । उनलाई सोमबार काठमाडौं ल्याइएको सीआईबी स्रोतले जनाएको छ ।
भारतको मुम्बईमा लुकेर बसेका अध्यक्ष शर्मालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको हो । २०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । उनैले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए ।
शर्मा भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएका थिए । संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि बचतकर्ताहरूले सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए ।
बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि पनि फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरूले जाहेरी दरखास्त दिएपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानको क्रममा सीआईबीले यही असार १ गते एक सूचना जारी गरी काठमाडौं र ललितपुर जिल्ला भित्रका सेवा केन्द्रहरूमा निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेका रकम हिनामिना भई ठगी हुन गएको भए प्रमाणसहित जाहेरी दिन आह्वान गरेको थियो । उनी नेतृत्वको मोरङको तुलसी सहकारीबाट भएको ठगीको पनि मोरङ प्रहरीबाट अनुसन्धान गरिरहेको छ ।
उनले देशभर शाखा सञ्जाल विस्तार गरेर निक्षेपकर्तालाई ठग्ने काम गर्दै आएका थिए ।