मिटरब्याजीको निशाना र सरकारको वेवास्ताले संकटमा लघुवित्त, साढे ४ खर्ब कर्जा राज्यले मिनाहा गर्न सक्छ ?

काठमाडौं। सरकारी वेवास्ताका कारण देशमा संचालित लघुवित्तहरू संकटमा परेको लघुवित्त बैंकर्स संघले बताएको छ । लघुवित्तको लामो समयदेखि देखिएको समस्याको विषयमा बोल्दै लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष बसन्त लम्सालले मिटरब्याजीको निशाना र सरकारको बेवास्ता गरेको कारण लघुवित्त क्षेत्रमा संकट देखिएको जानकारी दिएका छन् ।

यस्तै, लघुवित्त बैंकर्स संघले आफूहरु असुरक्षित भएको भन्दै सुरक्षित रुपमा सेवा प्रवाह गर्ने वातावरण बनाइदिन राज्यसँग अनुरोध गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर संघले सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको हो । पछिल्लो समय नियामक निकाय र सरकारले समेत समस्या समाधानलाई वेवास्ता गर्दा समस्या जटिल बन्दै गएको बताए । मिटर व्याजी र आन्दोलनकारीले कर्मचारीलाई कुटपिट र कर्जा नतिरी लघुवित्तलाई संकटमा पुर्याउने र सम्बद्व सरकारी निकायले पनि वेवास्ता गरिरहने हो भने जस्तोसुकै कदम चाल्न समेत पछि नपर्ने बताए ।

संघका निवर्तमान अध्यक्ष बसन्त लम्सालले लघुवित्त संस्था र लघुवित्तकर्मीहरु असुरक्षित रहेको बताए । नेपालको कानून अनुसार दर्ता भएका संस्थाहरु माथि अस्वभाविक माग राखेर धम्माउने गरिएको उनले बताए । लघुवित्तका विरुद्ध पछिल्लो समय संघर्षको कार्यक्रम नै घोषणा गरेर आन्दोलन हुने गरेको छ । लघुवित्त संस्था खारेजी हुनुपर्ने, शून्य ब्याजदरमा ऋण उपलब्ध हुनुपर्ने, ऋण मिनाहा हुनुपर्ने लगायतका अस्वभाविक मागहरु राखिएको भन्दै उनले यस्ता मागको अर्थ नै नरहेको बताए ।

बाहिर आएका नकारात्मक गतिविधिमा नियामक निकायले पनि चासो नदिएको उनले बताए । अवैधानिक गतिविधिहरुलाई निरुत्साहित गर्न राष्ट्र बैंक लगायतका नियामक संस्थाले आवश्यक निर्णय लिनुपर्ने निवर्तमान अध्यक्ष लम्सालको भनाइ छ ।

लघुवित्त बैंकर्स संघले सोमबार विहान प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । संघका महासचिव रामबहादुर यादवले आफूले गरेको कमजोरी केही भए आफूहरु सच्चिन तयार रहेको बताए । तर, गैरकानुनी काम भने सह्य नहुने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स