काठमाडौं । डिजिटल फर्स्ट बैंकको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने दीर्घकालीन लक्ष्य लिइरहेको एनआईसी एशिया बैंकले अब आफ्ना ग्राहकको नाममा विदेशबाट आएको रेमिट्यान्स रकम बैंकको मोबाइल बैंकिङ एपमार्फत सहजै बुझ्न सकिने सेवाको सुरुवात गरेको छ।
यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफूलाई आएको रेमिट्यान्स रकम यसै बैंकमा रहेको निजको खातामा डिपोजिट गर्न सक्नेछन्। डिजिटल कारोबारमा आमग्राहकको उपस्थितिलाई थप प्रोत्साहन गर्नुपर्ने आजको आवश्यकतालाई सघाउ पुग्ने गरी आएको यस सेवाबाट रेमिट्यान्स रकम बुझ्नका लागि एनआईसी एशिया मोबैंकभित्रको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिटभित्र आफूलाई प्राप्त रकम र युनिक पिन राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिनेछ। यस सेवापश्चात ग्राहकलाई रेमिट्यान्स रकम बुझ्नकै लागि बैंक उपस्थित भई भौतिक फारम भरी नगद झिक्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल भएको बैंकमध्येको बैंक हो। बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ४७३ एटीएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।