राष्ट्र बैंकले ल्यायो लघुवित्तको लागि नयाँ योजना, ५ प्रतिशत ब्याजतिरे ऋण पुर्नतालिकीकरण र पुर्नसंरचना गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका ऋणीहरूका लागि नयाँ नीति ल्याएको छ । बैंकले आज एकीकृत निर्देशन संशोधन गर्दै लघुवित्त कम्पनीका ऋणीहरूले तिर्न बाँकी ब्याजको न्यूनतम ५ प्रतिशत ब्याज रकम तिरेर आफ्नो ऋणको पुर्नतालिकीकरण र पुर्नसंरचना गर्न पाउने व्यवस्था गरिदिएको हो ।

लघुवित्त कम्पनीका ऋणीहरूलाई कर्जा चुक्ता गर्न नसकिरहेको यो अवस्थामा लघुवित्तका ऋणीलाई ठूलो राहत पुग्ने देखिएको छ । राष्ट्र बैंकले आवश्यक र औचित्यका आधारमा एक पटकको लागि कर्जा पुर्नतालिकीकरण अथवा पुर्नसंरचना गर्न सक्ने व्यवस्था गरिदिएको हो । कम्पनीले आफ्ना ऋणीहरूको त्यस्तो कर्जा आगामी असार मसान्त भित्रै पुर्नतालिकीकरण र पुर्नसंरचना गरिसक्नुपर्नेछ ।

त्यस्तो सुविधा भने २०७९ चैत्र मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएका ऋणीहरुले मात्र कर्जा भुक्तानी अवधि बढीमा १ वर्ष थप हुने गरी पुर्नतालिकीकरण र वा पुर्नसंरचना गर्न पाउनेछन् । यस्तो पुर्नतालिकीकरण र पुर्नसंरचना २०८० असार मसान्तभित्र गरिसक्नु पर्नेछ ।

पुर्नतालिकीकरण वा पुर्नसंरचना गरिएका कर्जाहरुलाई ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने पनि एकीकृत निर्देशनमा उल्लेख छ । उपर्युक्त बमोजिम पुर्नतालिकीकरण पुर्नसंरचना गरिएका कर्जाहरुलाई ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।

कर्जा पुर्नतालिकीकरण पुर्नसंरचना गर्नुपर्ने स्पष्ट आधारहरु प्रत्येक कर्जा फाइलमा संलग्न हुनुपर्नेछ । कर्जा पुनरतालिकीकरण पुनरसंरचना गर्दाको दिनसम्म असुल हुन बाँकी ब्याजको कम्तीमा ५ प्रतिशत ब्याज रकम असुल उपर भएको हुनुपर्नेछ । कर्जा पुनरतालिकीकरण पुनरसंरचना गर्दा असुल हुन बाँकी ब्याजलाई पुँजीकरण गरी आम्दानी जनाउन पाइने छैन । उक्त रकमलाई छुट्टै खातामा लेखांकन गरी ब्याज असुल भएपश्चात् मात्र आम्दानीका रुपमा देखाउन सकिनेछ ।

पुनरतालिकीकरण पुनरसंरचना गरेवापत ऋणीबाट कुनै पनि प्रकारको शुल्क/हर्जाना लिन पाइने छैन । पुनरतालिकीकरण पुनरसंरचना गरिएका कर्जाको किस्ता लगातार ६ महिनासम्म नियमित भए पश्चात् मात्र त्यस्ता कर्जालाई असल कर्जामा वर्गीकरण गर्न तथा कर्जा नोक्सानी व्यवस्थामा समायोजन गर्न पाइने छ ।

पुनरतालिकीकरण पुनरसंरचना पश्चात् कर्जा नोक्सानी व्यवस्थाबाट राइट ब्याक हुने अवस्था आएमा राइट ब्याक गरिए बराबरको रकम सञ्चित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखांकन गर्नुपर्नेछ ।

यसरी लेखांकन गरिएको रकमबाट लाभांश तथा कर्मचारी बोनस वितरण गर्न पाइने छैन । पुनरतालिकीकरण पुनरसंरचना गरिएको कर्जा असल बर्गमा बर्गीकरण भएपश्चात् मात्र उपरोक्त खातामा लेखांकन गरिएको रकम सञ्चित मुनाफा हिसाबमा समायोजन गर्न सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स