वैशाखमा १३ बैंकको कर्जा घट्यो, कर्जा घट्ने बैंकमा पहिलो प्रभु र निक्षेप बढाउनेमा पहिलो नबिल

काठमाडौं । चालु आर्थिक वर्षमा बैंकहरूले खासै व्यवसाय गर्न सकेका छैनन् । तरलताको अभाव हुँदा त्यसको प्रभाव कर्जा प्रवाहमा पनि देखिएको छ । वैशाख महिनमा सबैभन्दा बढि कर्जा प्रभु बैंकको घटेको छ भने सबैभन्दा बढि निक्षेप संकलन नबिल बैंकले गरेको छ ।

चैतमा केही बढेको कर्जा वैशाखमा पुनः घटेको हो देशमा सञ्चालित वाणिज्य २१ वटा वाणिज्य बैंकहरूले चैत महिनासम्म ४३ खर्ब ९ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा वैशाखमा सो कर्जा घटेर ४२ खर्ब ९८ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको नेपाल बैंकर्स संघको तथ्यांक छ । चैतको तुलनमा वैशाखमा १० अर्ब ७६ करोड रुपैयाँले कर्जा घटेको छ ।

२०७९ असार मसान्तयता वैशाखसम्म १ खर्ब २३ अर्ब ७७ करोड रुपैयाँ कर्जा बढेको छ । बैंकहरूले गरेको कर्जा लगानी गत आवको भन्दा ३ प्रतिशतलेमात्रै बढी हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा यो वर्ष निजी क्षेत्रतर्फ जाने कर्जाको १२.६ प्रतिशतले कर्जा वृद्धिदर रहने प्रक्षेपण गरेको थियो ।

वैशाख महिनामा एभरेष्ट बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक, प्रभु बैंकलगायतका बैंकको बिजनेश २ अर्बभन्दा बढीले घटेको छ भने ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्र्डड चाटर्ड, कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल एसबिआई, एनएमबि बैंक, लक्ष्मी बैंकको बिजेशन घटेको छ ।

नबिल माछापुच्छ्रे, कुमारी, नेपाल प्राइम कमर्शियल बैंक, सानिमा बैंक सिद्धार्थ र सनराइज बैंकले चैतको तुलनामा वैशाखमा कर्जा बढाएका छन् । वैशाख महिनामा सबैभन्दा धेरै कर्जा प्रवाह प्राइम कमिर्शियल बैंकले गरेको छ भने सबैभन्दा धेरै कर्जा प्रभु बैंकको घटेको छ ।

वैशाख महिनामा सबैभन्दा बढी कर्जा प्रवाह गर्ने प्राइम कमर्शियल बैंकले ३ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने प्रभु बैंकको कर्जा २ अर्ब ९३ करोड रुपैयाँले घटेको छ ।

प्रभु बैंकपछि वैशाखमा कर्जा घटेको बैंक एभरेष्ट बैंक हो । एभरेष्ट बैंकको कर्जा २ अर्ब ७१ करोड रुपैयाँले घटेको छ । गत आवको असारमसान्तदेखि वैशाखसम्म १० अर्ब १४ करोड रुपैयाँले कर्जा विस्तार गरेको एभरेष्ट बैंकको व्यवसाय वैशाखमा आएर खस्किएको हो । बैंकले अन्य महिनामा राम्रो व्यवसाय गर्दै आएको थियो ।

वैशाख १ महिनामात्रै हिमालयन बैंकको कर्जा २ अर्ब ६९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा २ अर्ब ५ करोड, एनआईसी एशिया बैंकको कर्जा २ अर्ब ४ करोड रुपैयाँले घटेको छ ।

ग्लोबल आईएमई बैंकको कर्जा १ अर्ब ७७ करोड रुपैयाँले घटेको छ भने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको कर्जा १ अर्ब ५७ करोड रुपैयाँले घटेको छ । अन्य बैंकको कर्जा भने अर्बभन्दा कमले घटेको बैकर्स संघको तथ्यांक छ ।

हिजो मंगलबार संघमा आयोजित पत्रकारसँगको भेटघाट कार्यक्रममा अध्यक्ष सुनिल के.सीले अझै दुई महिना समय बाँकी रहेको कर्जाको विस्तार ६–७ प्रतिशतसम्म पुग्न सक्ने बताए । ‘अबको बाँकी समयमा पनि कर्जाको विस्तार हुन सक्छ,’ उनले भने ‘अझै बैंकमा २ सय अर्ब जति निक्षेप पनि थपिन्छ ।’

बैंकहरूले १० महिनाको अवधिमा झण्डै ३ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन वृद्धि गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार २१ वटा वाणिज्य बैंकहरूले १० महिनामा ६.१७ प्रतिशत अर्थात् २ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप वृद्धि गरेर ४८ खर्ब ४० अर्ब रुपैयाँ पुर्याएका हुन् । गत असार मसान्तसम्म बैंकहरूसँग ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो ।

पछिल्लो तथ्यांक अनुसार निजी बैंकहरूलाई पछि पार्दै राष्ट्रिय वाणिज्य बैंकले निक्षेप संकलन ह्वात्तै बढाएको छ । १० महिनाको अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १५.४९ प्रतिशत अर्थात् ४७ अर्ब रुपैयाँ बढाएर ३ खर्ब ३ अर्ब रुपैयाँ पुर्याएको छ । गत असारसम्म बैंकसँग २ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप थियो ।

वैशाख महिनामा कृषि विकास बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंकलगायत बैंकले निक्षेप बढाएका छन् ।

वैशाख महिनामा सबैभन्दा बढी निक्षेप नबिल बैंकले बढाएको छ । बैंकले वैशाख महिनमामात्रै ४ अर्ब ३२ अर्बले निक्षेप बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स