गलत नियतले छलाङ मार्न खोज्दा फसे एभरेष्ट बैंकका अपरेशन इन्चार्ज प्रधान, अनलाइन बेटिङको लतले पुगे जेल

यस्तो छ बैंकलाई समेत बदनाम गर्ने उनको हर्कत

काठमाडौं । घटना हो साढे ४ महिना अघिदेखिको । एभरेष्ट बैंकको इटहरी शाखाबाट ग्राहकको खातामा रहेको रकम अनाधिकृतरूपमा बैंकका अपरेशन इन्चार्ज निरज प्रधानले पास वर्ड चोरेर आफ्नो र अन्य १२ वटा फर्जी खाता बनाएर रकम ट्रान्जेक्शन गरेको । सेयरमा टन्न लगानी गरेका प्रधानले बजार खस्किएपछि पैसा कमाउने धन्दाको रुपमा अनलाइन बेटिङलाई रोजे । प्रधानले अनाधिकृत रुपमा पैसा ट्रान्सफर गर्नको लागि आफ्नैले सञ्चालन गर्ने दूई वटा फर्जी खाता समेत बनाए । त्यहि जुवाले उनलाई गत चैत २२ गते जेलमा पुर्यायो ।

अनलाइन बेटिङको लतमा फसेका प्रधानले सबैभन्दा पहिला आफ्नो परिवारको खातामा रहेको पैसा आफ्नो खातामा ट्रान्सफर गरे, त्यसपछि ससुरालीको । आफन्तको खातामा रहेको रकम ट्रान्सफर गरेर झ्वाम्म पारेपछि उनले बैंकमा रहेका अन्य ग्राहकको खाताको पास वर्ड चोरेर आफ्नो लतलाई निरन्तरता दिए ।

ग्राहकको खाताबाट अनाधिकृत रुपमा पैसा ट्रान्सफर गर्ने धन्दामा लागेका प्रधानले पास वर्ड चोरेर अन्य ग्राहकको खाताबाटै पैसा विभिन्न फर्जी खातामा ट्रान्फर गर्न थाले । उनले पैसा ट्रान्सफर गरेका खाताहरूमध्ये केहि खाता निस्कृय पनि थिए । आफै अपरेशन इन्चार्ज भएकोले यसको पत्तो कसैलाई हुँदैन भन्ने विश्वासका साथ उनले पैसा विभिन्न खातामा ट्रान्सफर गरेका हुन् ।

१४ नोभेम्बर देखि ३१ मार्चसम्म उनले विभिन्न २३ वटा खाताबाट १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले बताए । ‘एउटा व्यक्तिको खाताबाट ७ लाख रुपैयाँसम्म चोरी भएको बैंकको आन्तरिक अनुसन्धानले पत्ता लगाएको हो,’ उनले भने ‘आन्तरिक अनुसन्धानबाट ग्राहकको खाताबाट पैसा चोरेको थाहा पाउने बित्तीकै हामीले सबैभन्दा पहिला ग्राहकको खातामा शोधभर्ना (पैसा हालिदिने) गरिहाल्यौ ।’

‘अनाधिकृत रुपमा पैसा चोरी भएकोे पत्तो पाएपछि आन्तरिक अनुसन्धान सुरु भयो,’ उनले थपे ‘प्रधानको त्यो कर्तुत राष्ट्र बैंक र प्रहरीलाई जानकारी गरार्यौ । त्यसदिनदेखि प्रहरीले अनुसन्धान गरिनै रहेको थियो । सोही आरोप प्रधानलाई प्रहरी गत चैत २२ गते नै पक्राउ गरिसकेको थियो ।

त्यसपछि लगातार अनुसन्धान गरिरहेको प्रहरीले गत शुक्रबार एकाएक बैंकका थप छ जना कर्मचारी र बाह्य दुई जनालाई पक्राउ गरेको समाचार आयो । समाचार आएपछि हामीनै सक भयौं । हामीलाई शाखा कार्यालय पनि सञ्चालन गर्नु थियो बैंकका विभाग प्रमुख उप्रेदीले भने । बैंकको इटहरी शाखाकी ३० वर्षीय टेलर पवित्रा कटुवालले आफ्नो ब्वाइफ्रेन्डलाई मोटरसाइकल किनिदिन भनेर रकम चोरी गरेको नभएको समाचार पनि आयो । त्यो मिथ्या हो, पैसा प्रधानले नै पास वर्ड चोरेर ट्रान्फर गरेको देखिएको छ, उनले प्रष्टाए ‘पक्राउ पर्ने यी सात जना बैंकका कर्मचारी हुन् ।’

प्रधानको त्यो लतले उनलाई त ‘घर को न घाट को’ बनायो नै परिवारको इज्जत समेत माटोमा मिल्यो । १४ वर्ष बैंकमा जेहेन्दार र इमान्दार कर्मचारी भएर बनेको उनको प्रतिष्ठा घृणामा परिणत भयो । आफूलाई जागिर दिएर त्यो पदिय दायित्व सुम्पेको संस्थाको गरिमामा समेत प्रश्न चिन्ह उठायो ।

हुन त एउटा व्यक्तिको यस्ता गल्तीले संस्थाको गरिमामा आँच आउनु हुँदैन । व्यक्तिको अस्तित्व त हराउँछ वा स्वयम् व्यक्ति आफैले गुमाउन पनि सक्छ, यद्यपि संस्था भनेको त जीवन्त रहन्छ र युग युगसम्म अम्मर भएर चलिनै रहन्छ । कुनै व्यक्तिले पोखरीमा ढुंगा हान्यो भने केहि समय पानी धम्लिए जस्तो देखिएपनि पानीको सङ्गो हुने गुणलाई सकैले मार्न सक्दैन वा पानीको रंगलाई कसैले परिवर्तन गर्न सक्दैन । हो, ठिक त्यस्तै हो एभरेष्ट बैंकले आम ग्राहकलाई दिएको सेवा र सेयरधनीलाई दिएको प्रतिफलले पनि बैंक अब्बलनै छ र भोलिका दिनमा पनि यस्तै रहन्छ भन्ने हो । साना तिना छ्रिद्रले बैंकको छविमा कुनै बिचलन ल्याउन हुँदैन र आउँदैन पनि भन्ने बैंकले प्रष्टाइसकेको छ ।

बैंकको मेन ट्रान्जेक्शन गर्ने जिम्मेवारी पाएका मान्छेबाट यसरी संस्थाकै बदनाम हुने गरी कार्य हुन्छ भनेर बैंकले कहिले सोचेको थिएन । बैंकका नयाँ र पुराना कर्मचाारी समेतलाई उनैले रकम ट्रान्सफर गर्न सिकाउथे । उनैबाट भएको यस्तो हर्कतले बैंक आफै सर्मिन्दा भएको छ र गलत लतमा फसेपछि त्यसले मानिसलाई कहाँसम्म पुर्याउँछ भन्ने गतिलो उदाहरण पनि बनेको छ ।

बैंकका कर्मचारीको मिलेमतोमा ग्राहकको खाताबाट चोरी भएको भनिएको रकम एभरेष्ट बैंकले सम्बन्धित ग्राहकको खातामा उतिबेलै जम्मा गरिदिइसकेको छ ।आफ्ना ग्राहकको खाता र व्यक्तिगत गोपनीयतालाई उच्च प्राथमिकता र गम्भीरताका साथ लिएको बैंकले बताएको छ । बैंकले समस्त ग्राहक महानुभावहरूको सम्पूर्ण निक्षेप रकम बैंकमा सुरक्षित रहेको जानकारी पनि गराएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स