काठमाडौं । नेपाल बैंकर्स सघंका अध्यक्ष सुनिल केसीले अब बैंकको ब्याजदर निरन्तर घट्दै जाने बताएका छन् ।
सोमबार संघद्वारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केसीले आगामी असारपछि ब्याजदर थप घट्ने बताएका हुन् ।
‘बैंकको ब्याजदर अब निरन्तर घट्दै जान्छ, राष्ट्र बैंकको नीति अनुसार पनि स्प्रेडदर असारमा ४ प्रतिशतमा झार्नुपर्नेछ, असार साउनसम्म ब्याजदर घट्दै जान्छ ।’ उनले भने, ‘तरलता सहज हुँदैछ, ब्याजदर अझै घट्छ ’।
‘पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम बढ्दै छ, तर कर्जा लगानी बढेको छैन ।’ उनले भने, ‘निक्षेप बढेको अनुपात कर्जा लगानी नबढेकाले तरलता पनि सहज अवस्थामा छ’, केसीले भने ।
चालु पुँजी कर्जासम्बन्धी नीतिले आगामी वर्ष कर्जा विस्तार सुस्त हुने र सरकारी खर्च नबढ्ने तथा आर्थिक वृद्धि सुस्त हुने उनको अनुमान छ ।
उनका अनुसार चालु आर्थिक वर्षको अन्तिम दुई महिनामा सरकारी खर्च बढ्ने भएकाले निक्षेप थप बढ्ने बताए । जेठ र असारमा थप २ खर्ब निक्षेप बढ्ने अनुमान रहेको केसीले बताए । उनले भने,‘अबको दुई महिनामा बैंकहरुको निक्षेप थप २ खर्ब रुपैयाँले बढ्ने अनुमान गरेका छौं, कर्जा प्रवाह भने डेढ खर्ब हुने देखिन्छ।’