काठमाडौं । कर्जा विस्तारमा आएको सुस्ततासँगै बैंक तथा वित्तीय संस्थाले गराउने कर्जाको सुरक्षणमा ऋणीको संख्या घटेका छ । गत आर्थिक वर्षको साउनदेखि चैतसम्म १७ लाख ४९ हजार ३८० ऋणीको कर्जा सुरक्षण भएको यो वर्ष घटेर १६ लाख ७१ हजार ७२१ सीमित भएको छ ।
चालु आर्थिक वर्षको कर्जा सुरक्षण ऋणीको संख्या घटेपनि कर्जा सुरक्षणको आकारमा भने वृद्धि भएको छ । तेस्रो त्रैमास चैतसम्म निक्षेप तथा कर्जा सुरक्षण कोषमा ऋणीहरूको २ खर्ब ७० अर्ब १७ करोड रुपैयाँ कर्जा सुरक्षण भएको छ । जबकि गत आवको सोही अवधिमा कुल २ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा सुरक्षण भएको थियो ।
सो कर्जा सुरक्षणबाट निक्षेप तथा कर्जा सुरक्षण कोषले कुल २ अर्ब ११ करोड ४३ लाख रुपैयाँ कर्जा सुरक्षणबाट शुल्क उठाउदै आएको छ । गत आवको सो अवधिमा १ अर्ब ८७ करोड ४ लाख रुपैयाँ कर्जा सुरक्षणवापत शुल्क उठेको थियो ।
चालु आवको यो अवधिमा १ लाख ३६ हजार २७७ ऋणीले दावी पेश गरेका छन् । सो दावीका लागि कोषले २१ करोड ३८ लाख दावी भुक्तानी गरेको छ । गत आवको समीक्षा अवधिमा १ लाख २२ हजार २७२ ऋणीले दावी पेश गरेका थिए । कोषले १८ करोड ९७ लाख रुपैयाँ दावी भुक्तानी गरको छ ।
कोषमा भएको कर्जा सुरक्षणमध्ये सबैभन्दा बढी सुरक्षण लघु तथा विपन्न कर्जा भएको छ । चैतसम्म सो शीर्षकमा १ खर्ब ९० अर्ब २९ करोड १३ लाख रुपैयाँ बराबरको कर्जा सुरक्षण भएको हो । कोषले १५ लाख ६६ हजार ९५२ ऋणीको कर्जा सुरक्षण गरेको हो । गत आवको सोही अवधिमा १६ लाख ४६ हजार ४३६ ऋणीको सुरक्षण भएको थियो ।
कोषले सो लघु तथा विपन्न कर्जा सुरक्षण गरेर १ अर्ब ४९ करोड ६३ लाख रुपैयाँ शुल्क आम्दानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा १ अर्ब २९ करोड ५ लाख रुपैयाँ कर्जा सुरक्षण भएको थियो । यो शीर्षक अन्तर्गत ६ हजार ५२० ऋणीको दावी परेको छ । कोषले २० करोड ७२ लाख रुपैयाँ दावी भुक्तान गरेको छ ।
चालु आवको यो अवधिमा कोषमा साना तथा मझौला उद्यम कर्जाको कर्जा सुरक्षण भने बढेको छ । गत आवमा ५ हजार ७१३ ऋणीको १० अर्ब ८९ करोड १३ लाख रुपैयाँ कर्जा सुरक्षण भएको यो वर्ष ऋणी र कर्जा सुरक्षण दुबै बढेर क्रमशः ६ हजार ११३ ऋणी र १२ अर्ब ४४ करोड रुपैयाँ बराबरको कर्जा सुरक्षण भएको छ ।
कोषले सो कर्जा सुरक्षण गरे वापत चालु आवको समीक्षा अवधिमा ७ करोड ४१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने ७४ हजार १८६ ऋणीको दावी परेको छ । गत आवको सो अवधिमा ६करोड १२ लाख प्रिमियम संकलन थियो भने ६५ हजार ३४८ ऋणीको दावी परेको थियो । कोषले चालु आव र गत आवको सो अवधिमा सो शीर्षक अन्तर्गत कुनै पनि दावीको भुक्तान गरेको देखिदैन ।
त्यसरी नै कुषि कर्जा सुरक्षणअन्तर्गत ९ वटा बैंक तथा वित्तीय संस्था समावेश भएकोे छन् । १० हजार ५६० कृषि कर्जा लिएका ऋणीको ९ अर्ब १४ करोड २४ लाख रुपैयाँ कर्जा सुरक्षण गरेर कोषले ५ अर्ब ५३ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । गत आवको सो अवधिमा ८ वटा बैंक तथा वित्तीय संस्थामार्फत ९ हजार ८३४ ऋणीको ७ अर्ब ९१ करोड १९ लाख रुपैयाँ कर्जा सुरक्षण गरेर ४ करोड ८९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।
चालु आवमा कर्जा सुरक्षण गराएका ऋणमध्ये ५४ हजार ८५५ ले दावी पेश गरेका छन् भने गत आवमा ४७ हजार ४७१ ऋणीले दावी पेश गरेका थिए । कोषले यो शीर्षकमा पनि दावीको भुक्तानी गरेको देखिदैन ।
कोषले सुहुलियत कर्जाअन्तर्गत ४२ वटा बैंक तथा वित्तीय संस्थामार्फत ८४ हजार ६८७ ऋणीको ५८ अर्ब १५ करोड ४३ लाख रुपैयाँ बराबरको कर्जा सुरक्षण गरेर ४८ करोड १२ लाख रुपैयाँ प्रिमियम उठाएको छ । गत आवको सो अवधिमा ४१ वटा बैंक तथा वित्तीय संस्थाले ८० हजार ३६२ ऋणीको ६६ अर्ब ४२ करोड ६० लाख रुपैयाँ कर्जा सुरक्षण गरेर ४६ करोड ३ लाख रुपैयाँ शुल्क संकलन गरेको थियो ।
चालु आवको चैतमसान्तसम्म पशुधन अन्तर्गत ३ हजार ४०९ ऋणीको १४ करोड २९ लाख रुपैयाँ बराबरको कर्जा सुरक्षण भएको छ । गत आवको सो अवधिमा ७ हजार ३५ ऋणीको १८ करोड ९४ लाख रुपैयाँ ऋण सुरक्षण गरी ९४ लाख ६९ हजार रुपैयाँ शुल्क (प्रिमियम) आम्दानी गरेको थियो । सो शीर्षकमा २४६ वटा दावी परेकोमा ६६ लाख ६४ हजार रुपैयाँ भुक्तानी भएको छ । गत आवमा ६८५ ऋणीको दावी परेकोमा कोषले १ करोड ८४ लाख ९७ हजार दावी भुक्तानी गरेको छ ।