काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका ट्रेजरी प्रमुखहरूलाई डाकेर २ सय डलरभन्दा बढीको नगदी सटही नगर्न निर्देशन दिएको छ । बैंकहरूले डलर सटही गरेर ‘सम्पत्ति शुद्धिकरण’ गर्न सघाएको भन्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।
नगद विदेशी मुद्रा (भारु बाहेक) को मौज्दात घट्दै गएको छ । कोभिडका कारण पर्यटक आएका छैनन् । रेमिटेन्स पनि घटेको छ । सो कारण निर्यात बढ्न सकेको छैन । विदेशी मुद्रा आउने प्रमुख स्रोत रोकिएको छ । कोभिडका कारण राष्ट्र बैंकले पनि डलर किनेर ल्याउने छैन ।
यसका साथै पछिल्ला दिन विदेशी मुद्राको सञ्चिति घट्न थालेको छ । उच्च आयातका कारण व्यापार घाटा बढेर शोधनान्तर ऋणात्मक भएको छ । त्यही कारण नगद भुक्तानीमा समेत राष्ट्र बैंकले कडाइ गर्न गरेको हो । विगतमा पनि राष्ट्र बैंकले सटही सुविधामा कडाइ गरेर २५ सय डलरसम्म सटही सुविर्धा घटाएर १५ सय डलरमा झारेको थियो ।
असारको तुलनामा साउनमा विदेशी मुद्राको सञ्चिति ४४ अर्ब २१ करोड रुपैयाँले घटेर १३ खर्ब ५३ अर्ब ८२ करोड रुपैयाँमा झरेको छ भने साउनमा ३८ अर्ब ७५ करोडले शोधनान्तर घाटामा रहेको छ ।
राष्ट्र बैंकको बैंकिङ विभागले २ सय डलरभन्दा बढी सटही गरेको थाहा पाएमा कारबाही गर्ने चेतावनीसमेत दिएको थियो । विभागले बैंकलाई चेतावनी दिँदै भनेको छ ‘ग्राहकहरूलाई राष्ट्र बैंकले पैसा साट्न रोकेको भनेर नभन्न समेत सचेत गराएको छ ।
राष्ट्र बैंकले १५ सयको सटहीमा २ सय डलरसम्म नगद र बाँकी कार्ड जारी गर्न निर्देशन दिएको छ । अहिले १५ सयको सीमालाई औपचारिक रुपमा यथावत राख्दै २ सय डलरभन्दा बढी नदिन मौखिक निर्देशन दिएको हो ।