काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुन नरसिंह केसीले नेपालमा नोटबन्दी गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभामा बुधबार प्रि–बजेट छलफलमा सांसद केसीले डम भएर बसेको भन्दै नोटबन्दीको माग राखेको हुन् । उनले १ हजार र ५०० रुपैयाँ दरका नोटमा नोटबन्दी गर्नुपर्ने बताएका छन् ।
‘चर्को ब्याजदरमात्रै पुँजी परिचालनमा बाधक बनेको होइन’, उनले भने, ‘देशमा डम भएर बसेको ३० प्रतिशत पैसामा तुरुन्तै नोटबन्दी आवश्यक छ ।’ नोटबन्दीले भ्रष्टचारको पोल खुल्ने र हालको समस्या पनि समाधान हुने उनले बताए । ‘राष्ट्र बैंकको नियमले यो दिँदैन र यो पैसा भ्रष्टचारीकै हो’, उनले भने
स्विस बैंकमा सन् २०१९ मा नेपालीको पैसा २२ अर्ब रहेकोमा सन् २०२० मा बढेर ४६ अर्ब पुगेको पनि केसीले बताए । केसीले लगानीलाई उत्पादन र रोजगारीसँग जोड्न पनि माग गरे । भेनेजुएलाको उदाहरण दिँदै उनले भने, ‘एक केजी चामललाई ३ लाख रुपैयाँ पर्छ, त्यो परिस्थिति नेपालमा आउन हुँदैन ।’
विश्व बैकले नेपालमा ३.१ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुन नसक्ने भनेको अवस्थामा धेरै महत्वकांक्षी बजेट हुन नहुनेमा केसीले जोड दिए । ‘भ्युटावरमात्रै देशको विकास होइन’, उनले भने, ‘अहिले नेपालमा ३० प्रतिशत लुटेको पैसा रहेकोले देशको अर्थतन्त्र विकासका लागि नोटबन्दी आवश्यक छ ।’