काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा बढेर दोब्बर भएको छ । गत आर्थिक वर्षमा लघुवित्तको खुद नाफा १११.११ प्रतिशत अर्थात १० करोड ८३ लाखले बढेको हो । २०७७ असारसम्म लघुवित्तको नाफा जम्मा ५ करोड १३ लाखमात्रै थियो ।
लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अधिकांश वित्त परिसूचकमा सुधार आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ११ रुपैयाँ ८ पैसा बढेर ३७ रुपैयाँ ९४ पैसा पुगेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा धेरै बढेकोले लघुवित्तको ईपीएस बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६५.९४ प्रतिशत बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्था ९२ लाख ऋणात्मक हुँदा लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।
असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.४२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ४३ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४९.४५ प्रतिशत बढेको छ भने जगेडा कोष ४३.११ प्रतिशत बढेको छ । लघुवित्तको सापटी ६०.६४ प्रतिशत, निक्षेप ५४.५४ प्रतिशत र कर्जा ५७.९८ प्रतिशत बढेको छ ।