मौद्रिक नीति तेस्रो त्रैमासिक समीक्षा यहि साता आउँदै, सेयर धितो कर्जाको सीमा २५ करोड र भारित औषत १०० प्रतिशत कायम गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा यही सातानै सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले सेयर धितो कर्जामा लचिलो नीति लिँदै मौद्रिक नीति समीक्षा वैशाख मसान्तभित्रै गर्ने भएको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउनको लागि राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याउनु पर्ने विभिन्न सार्वजनिक कार्यक्रमहरूमा बताउँदै आएका छन् । साथै उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पनि सोही अनुसार आगामी मौद्रिक नीति समिक्षाको मस्यौदा तयार गर्ने निर्देशन समेत दिएका थिए ।

सरकारको अर्थ नीतिलाई सहयोग गर्ने गरी चालु आर्थिक वर्षको मौद्रिक नीतिको खाका निर्माण भइसकेको राष्ट्र बैंक अनुसन्धान विभागले जानकारी दिएको छ । सरकारले अर्थतन्त्र चलायमान बनाउने प्रमुख सूचकको रुपमा पुँजी बजारलाई समेत लिएको हुँदा सेयरधितो कर्जामा राष्ट्र बैंक लचिलो हुन लागेको राष्ट्र बैंकका एक अधिकारी बताए ।

‘सरकारसँग अहिले पैसा नभएको अवस्था नै हो, बजारमा तरलता र नगद प्रवाह बढाउन सरकारलाई सहयोग गर्नु राष्ट्र बैंकको कर्तव्य नै हो, बजारमा तरलता प्रवाह र नगद प्रवाह बढाउने औजार पुँजी बजार पनि हो । त्यसैले सेयर धितो कर्जा र यसको भारित औषतमा पुनः मुल्यांंकन गरी नयाँ दर यही समिक्षामार्फत तय हुन सक्छ,’ राष्ट्र बैंक स्रोतले हाम्रोअर्थसँग भन्यो, ‘यसअघि ४/१२ करोड रुपैयाँको सीमालाई १२ करोड रुपैयाँमात्रै कायम गरिएको हो । अब १२ करोड रुपैयाँको सीमालाई २५ करोड रुपैयाँ कायम गर्ने विषय उठान भएको हो ।

मौद्रिक नीतिबाट पुँजीबजारको विकास र स्थायित्वमा प्रतिकूल प्रभाव नपर्ने गरी नीतिगत प्रवन्ध गर्नु पर्ने अहिलेको हाम्रो प्रमुख जिम्मेवारी नै हो ।

मौद्रिक नीति समीक्षाको विभागीय छलफल सकिएर उच्च व्यवव्स्थापनमा अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीति समिक्षाको मस्यौदामा छलफल भइरहेको छ । जसमा सेयर धितो कर्जामा २५ करोड रुपैयाँ सीमा बनाइनेदेखि सेयर धितो कर्जाको भारित औषत १५० प्रतिशतलाई १०० प्रतिशतमा झारिने समेत व्यवस्था गर्नु पर्ने उल्लेख भएको स्रोतको दावी छ ।
हिजो आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पनि सेयर धितोकर्जाको सीमा बढाउन र भारित औषतको सीमा झार्न राष्ट्र बैंकलाई अनुरोध गरेका छन् ।

उच्च व्यवस्थापन र सञ्चालक समितको बैठकले सो प्रस्तावित व्यवस्थालाई पारित गरेमा जेठ महिनादेखि नै लागू हुनेछ । यद्यपि अर्थमन्त्रीको सुझाव अनुसार राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत् भएपनि सेयर धितो कर्जामा लचिलो नीति लिने स्रोतको भनाइ छ ।

साथै राष्ट्र बैंकले सेयर बजारलाई प्रतिकूल प्रभाव नपर्ने गरि लचिलो मौद्रिक नीति निर्माण गर्न सेयर मार्जिन कर्जा, लाभांश वितरणमा कडाइ, हकप्रद सेयर जारी गर्न कडाइ जस्ता विषयलाई समेत पुनः मूल्यांकन गरि नयाँ व्यवस्था गर्न सक्ने स्रोतको भनाइ छ । राष्ट्र बैंकले यसअघि यी बिषयमा नीतिगत परिवर्तन गर्दा सेयर बजारमा उच्च उतार चढाव हुँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स