काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २२ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४०.०८% थोरै हो । गत वर्ष बैंकले ३७ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ११.७०% ले बढ्दा सञ्चालन नाफा भने ३८.३०% ले घटेको छ । इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो ।
कोरोना महामारीपछिको विश्वव्यापी मन्दी, लगानी योग्य पुँजीको अभाव, अर्थतन्त्रमा देखिएको संकुचनका कारण यसको प्रभाव वित्तीय क्षेत्रमा पनि देखिएको छ ।
गत असार मसान्तमा ४८ अर्ब ७७ करोड रुपैयाँ रहेको निक्षेप चैत मसान्तमा आइपुग्दा जम्मा ४९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा ४० अर्ब ५७ करोड रहेको कर्जा चैत मसान्तमा बढेर ४१ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी ३ अर्ब २६ करोड ७५ लाख रहेको बैंकको रिजर्भ रिजर्भ १ अर्ब २५ करोड रुपैयाँ छ । कर्जा असूलीमा समस्या हुँदा खराब कर्जा ह्वात्तै बढेको छ । गत वर्षको चैत मसान्तमा १.२० प्रतिशत रहेको खराब कर्जा बढेर ३.५५ प्रतिशत पुगेको छ । रिटर्न अन इक्वीटी ७.४७ प्रतिशत रहेको छ ।