प्राइम कमर्सियल बैंकको नाफा साढे २ अर्ब

काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.३५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.०७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ११.६८ प्रतिशत बढेको छ। निष्क्रिय कर्जा ०.९४ प्रतिशतबाट बढेर ३.०६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर ९९ करोड पुगेपछि बैंकको सञ्चालन मुनाफा ९.६४ प्रतिशत घटेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३० करोड १५ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ४९ पैसा घटेर १६ रुपैयाँ ९६ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४१ पैसा रहेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी १९ अर्ब ४० करोड पुर्याएको यस बैंकको जगेडा कोषमा ९ अर्ब १९ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो ९ महिनामा बैंकको निक्षेप ३.८६ प्रतिशत बढेको छ भने कर्जा ३.४४ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स