निष्क्रिय कर्जा बढेपछि सिद्धार्थ बैंक नाफा साढे १ अर्बमा खुम्चियो

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ४९ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.६५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा बढी इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.६१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १४.८१ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.१२ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ४२ करोड रुपैयाँबाट बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

यसले गर्दा बैंकको सञ्चालन मुनाफा २९.२२ प्रतिशत घट्न पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४५ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ २८ पैसा घटेर १४ रुपैयाँ १० पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.१८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २८ पैसा रहेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट १२.५० प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी १४ अर्ब ८ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा ८ अर्ब ९१ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो ९ महिनामा बैंकको निक्षेप १०.९७ प्रतिशत बढेको छ भने कर्जा १.६३ प्रतिशत बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स