काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ सेवा लिनु अघि सेवा प्रदायकको सेवा, शुल्क र शर्त दाँजेर लिन सुझाएको छ । राष्ट्र बैंकले आज वित्तीय चेतनाको लागि भन्दै एक सूचना जारी गरेर ‘बैंक तथा वित्तीय संस्थाबाट कुनै पनि सेवा लिनुअघि सोसँग सम्बन्धित सम्पूर्ण शर्त तथा सेवाबापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर र विभिन्न संस्थाका सेवाहरू दाँजेर आफूलाई उपयुक्त हुने सेवामात्रै लिनुपर्छ’, सूचनामा भनिएको छ, ‘कसैको वहकाउमा लागेर सम्पूर्ण जानकारी नलिई यस्ता सेवा लिनुहुँदैन।’ राष्ट्र बैंकले सबै कुरा बुझेरमात्रै बैंकिङ सेवा लिन सेवाग्राहीलाई सुझाव दिएको हो ।
बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई वित्तीय सेवासम्बन्धी शर्त, शुल्क, हर्जना, जरिवाना, कमिसन आदिका बारेमा सरल एवम स्पष्ट भाषामा निःशुल्क रुपमा जानकारी उपलब्ध गराउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ‘ग्राहकलाई सम्पूर्ण विषय सरल भाषामा बुझाएरमात्र व्यावसायिक सम्बन्ध स्थापना गर्नु बैंक तथा वित्तीय संस्थाको दायित्व हो’, सूचनामा उल्लेख छ ।
वित्तीय सेवाका सर्त तथा शुल्कका बारेमा प्रश्न गर्दा स्पष्ट जानकारी नपाइएमा सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न पनि राष्ट्र बैंकले सेवाग्राहीलाई सल्लाह दिएको छ ।