काठमाडौं । नेपालका बैंकले ब्याजदर घटाउन थालेपछि अमेरिकी केन्द्रीय बैंक (फेड) र बैंक अफ इंग्ल्यान्डले फेरि ब्याजदर बढाएका छन् । इंग्ल्यान्डको केन्द्रीय बैंकले बिहिबार ब्याजदरमा ०.२५ प्रतिशत वृद्धि गरेको हो ।
पछिल्लो वृद्धिसँगै इंग्ल्यान्डमा केन्द्रीय बैंकको बेन्चमार्क ब्याजदर ४ प्रतिशतबाट बढेर ४.२५ प्रतिशत पुगेको छ । यो सन् २००८ पछि अर्थात् १५ वर्ष यता कै उच्च बिन्दु रहेको सीएनएएनले उल्लेख गरेको छ । अस्वभाविक रुपमा बढेको मूल्यवृद्धिलाई नियन्त्रण गर्नको लागि ब्याजदर वृद्धि गरिएको बैंक अफ इंग्ल्यान्डले जनाएको छ ।
बुधबार अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले पनि ब्याजदर वृद्धि गरेको थियो। फेडरल रिजर्भले बुधबार ब्याजदरमा ०.२५ प्रतिशत वृद्धि गरेको हो । अमेरिकी केन्द्रीय बैंकको सन्दर्भ ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्म कायम भएको छ ।
यसअघि यस्तो दर ४.५० देखि ४.७५ प्रतिशतसम्म थियो । अमेरिकाको हालको ५ प्रतिशतसम्मको सन्दर्भ ब्याजदर १७ वर्षयताकै उच्च हो । यसअघि सन् २००६ को जुलाइमा पनि ५ प्रतिशत थियो ।
पछिल्लो वृद्धिसँगै अमेरिकामा केन्द्रीय बैंकको बेन्चमार्क ओभरनाइट ब्याजदर ४.७५ प्रतिशतबाट बढेर ५ प्रतिशत पुगेको र यो १५ वर्ष यता कै उच्च बिन्दु रहेको सीएनबिसीले उल्लेख गरेको छ । मूल्यवृद्धिलाई नियन्त्रण गर्नको लागि ब्याजदर वृद्धि गरिएको फेडरल रिजर्भले जनाएको छ ।
फेडरल रिजर्भले ब्याजदर वृद्धिको सिलसिला अब रोकिने संकेत गरेको सीएनबिसीले उल्लेख गरेको छ । सन् २०२२ को मार्चदेखि हालसम्म फेडले ९ पटक ब्याज वृद्धि गरिसकेको छ ।