काठमाडौं । अमेरिकाको बैंकमा ३ खर्ब अमेरिकी डलर बराबरको बीमा गरिएको निक्षेप नोक्सानीको जोखिममा देखिएको छ । ‘सोसल साइन्स रिसर्च नेटवर्क’ मा प्रकाशित ‘मौद्रिक कडाइ र अमेरिकी बैंकको कमजोरी २०२३’ शीर्षकको अनुसन्धान रिपोर्टमा १८६ वटा बैंकहरू निक्षेप नोक्सानीको जोखिममा देखिएको हो ।
बढ्दो ब्याजदर र असुरक्षित निक्षेपहरूको उच्च अनुपातका कारण असफलताको जोखिममा रहेको अनुसन्धानले देखाएको हो । बीमा नगरिएका २ लाख ५० हजार डलर भन्दा बढी रकमका निक्षेप खाताहरूले पनि बैंकमा जोखिम निम्याउन सक्ने रिपोर्टमा उल्लेख छ ।
यदि बिमा नगरिएका निक्षेपकर्ताहरूमध्ये आधाले मात्रै यी १८६ वटा बैंकहरुबाट नगद झिक्न थाले भने बीमा गरिएका निक्षेपकर्ताहरूले पनि नोक्सानीको सामना गर्नसक्ने अनुसन्धानले देखाएको छ ।
बैंकहरूसँग एकैपटक सबै निक्षेपकर्ताहरूलाई रकम प्रदान गर्न तरलता पर्याप्त नहुने भएका कारण यी बैंकहरू पनि सिलिकन भ्याली बैंक जस्तै असफल हुनसक्ने फोर्ब्सले उल्लेख गरेको छ । जसले ‘फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेसन’ लाई नै हस्तक्षेपका लागि बाध्य पार्नसक्ने देखिएको छ ।
यद्यपि, अनुसन्धानमा हेजिङलाई भने समावेश गरिएको छैन । हेजिङले धेरै बैंकहरूलाई बढ्दो ब्याजदरहरुबाट जोगाउन पनि सक्ने छ । सिलिकन भ्याली बैंकको असफलतालाई बढ्दो ब्याजदर र बीमा नगरिएका निक्षेपहरूबाट उत्पन्न जोखिमहरूले थप समस्या सिर्जना गर्न सक्ने देखिएको छ । अमेरिकी सरकारले बैंकहरू थप असफल हुनबाट जोगाउन कदम चालिरहेको छ । एजेन्सी