काठमाडौं । बैंकमा निक्षेपकर्ता लाइन लागे भने अमेरिकाकोमात्रै होइन नेपालको बैंक पनि कुनै नबच्ने बैकर पर्शुराम क्षेत्री कुँवरले बताएका छन् । नेपालका बैंकमा पनि समस्या आउँदा निक्षेपकर्ताले एकै दिन ठूलो रकम निकालेका थिए ।
त्यसपछि उक्त बैंकलाई राष्ट्र बैंकले टेकओभर नै गर्नु परेको थियो । ‘नेपालका बैंकहरूमा पनि समस्या आएका थिए नआएका होइनन्,’ उनले भने ‘तर, हाम्रोमा यस्तो अवस्था आउन लाग्यो भने उक्त बैंकलाई सुक्ष्म निगरानीमा रोखेर ग्राहकलाई डुब्न दिँदैन । नभए आफैले टेक ओभर गरेर पनि बैंकलाई राष्ट्र बैंकले बचाएको देखिएको छ । तत्कालीन नेपाल बंगलादेश, एनसीसी बैंकलगायतका बैंकलाई राष्ट्र बैंकले टेक ओभर गरेको थियो ।’
‘अझ यस्तो समस्या हाम्रो देशमा भन्दा पनि ठूला डिपोजिटर धेरै भएको बैंकमा ठूलो समस्या भएकोे देखियो,’ उनले भने ‘ठूलो डिपोजिटरले एकै पटक पैसा निकाल्दा सिलिकन भ्याली बैंकले सस्तोमा बण्ड बिक्री गर्नु पर्यो । एकै दिन बैंकबाट ठूलो रकम निकाल्दा बैंक नै टाट पल्टियो ।’
सिलिकन भ्यालीमा ९७ प्रतिशत ठूला डिपोजिटरको लगानी रहेको थियो । ठूला डिपोजिटरले एकै पटक पैसा निकाल्दा बैंक टाट पल्टिएको हो । बैंकको कुल सम्पत्तिको ५७ प्रतिशत बण्ड रहेछ । निक्षेप फिर्ता गर्नको लागि ठूलो रकम जुटाउनका लागि बैंकले सस्तोमा बण्ड बिक्री गर्योे । बैंकको यो कार्यले डिपोजिटरमा शंका पैदा भयो र बैंक नै टाट पल्टिएको हो ।
२ सय अर्ब अमेरिकी डलर सम्पत्ति भएको सिलिकन भ्याली बैंक नेपालका बैंकभन्दा ६/७ गुणाले ठूला हुन् । यसको अर्थ जति ठूलो बैंक भयो त्यति नै रिक्स हुँदो रहेछ भन्ने हो । यद्यपि नेपालको बैकिङ क्षेत्र भने पारदर्शीर र त्यो भन्दा धेरै सुरक्षित छ । हामीसँग साना डिपोजिटरको पैसा पनि देखिने गरी छ ।
यसबाट नेपालले सिक्नु पर्ने पाठभन्दा पनि आफ्नो बैंकहरूले आफ्नो लिक्युडिटी मेन्टन गरेर ठूला निक्षेपमा भन्दा साना निक्षेपलाई प्रोत्साहन गर्न सके बैंक समस्यामा पर्ने सम्भावना कम हुने देखिएको उनले बताए । अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टिएको २ दिनपछि अमेरिकाको न्यूयोर्कको सिग्नेचर बैंक पनि बन्द भयो । अमेरिकी नियामकहरूले आइतबार सम्भावित बैंकिङ संकट रोक्नका लागि भन्दै न्यूयोर्कस्थित सिग्नेचर बैंक बन्द गरेको हो ।
अमेरिकी बैंक टाट उल्टिएको एक साता बित्न नपाउँदै युरोपका बैंकहरूमा पनि समस्या देखियो । स्वीटजरल्याण्डको क्रेडिट स्वीज बैंकको सेयर मूल्य एकै दिन ३० प्रतिशतले घटेपछि बैंक समस्याग्रस्त बन्न पुगेको हो ।
यद्यपि विदेशी बैंकभन्दा नेपाली बैंक अझ सुरक्षित छन् । किनकी विदेशका बैंकहरूले प्रोजेक्ट फाइनान्सिङ गरेका हुन्छन् । नेपालमा धितो लिएरमात्रै कर्जा प्रवाह गर्ने व्यवस्था छ । धितोको मूल्य घट्दै भन्ने नै हो, हामी सबैभन्दा सुरक्षित र ढुक्क हुने माध्यम भनेको हाम्रो बैंकले लिएको धतो नै हो ।
अमेरिकामा साढे २ लाख अमेरिकी डलरसम्म निक्षेपको बीमा (सुरक्षण) हुने व्यवस्था छ । नेपालमा पनि निक्षेपकर्ताको २ लाखसम्म निक्षेप सुरक्षणको व्यवस्था छ । यो भनेको बैंकमा भएको कुल डिपोजिटको जम्मा १७/१८ प्रतिशतमात्रै सुरक्षण हो । अहिले नेपालको बैकिङ च्यानलमा ५४ खर्ब १३ अर्ब रुपैयाँ डिपोजिट छ । अहिले भएको सुरक्षण कुल डिपोजिटका ९ खर्ब ७४ अर्बमात्रै हो । यसले हामीलाई ढुक्क पार्न नसके पनि हाम्रा लगानीका क्षेत्र त्यति रिक्स नभएकोले नेपाली बैंक विदेशी बैंकभन्दा धेरै सुरक्षित छन् भन्ने देखिन्छ ।
अन्य देशको खराब कर्जाको रेसियो र हाम्रो देशको खराब कर्जाको रेसियो हेर्ने हो पनि हामी धेरै तल छौं । दक्षिण एशियाली देशमै ८÷९ प्रतिशतसम्म खराब कर्जा भएपनि नेपालको अवस्था यो महामारी र मन्दीमा पनि सामान्य हो भनेर मान्नु पर्छ । दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको यस्तो कर्जा २.२९ प्रतिशत रहेको छ । पहिलाको तुलनामा यो केहि बढेपनि औसतमा हेर्दा यसलाई सामान्यनै मान्नु पर्छ ।
(बैंकर क्षेत्रीसँग गरिएको कुराकानीको सार)