काठमाडौं । पछिल्लो समय डिजिटल नेपाल बन्ने सपना साकार हुँदै गएको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले नोटभन्दा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै आएको छ । माघ महिनामा मात्रै १ खर्ब ७२ अर्ब रुपैयाँको मोबाइल बैकिङ कारोबार भएको छ । पुसमहिनामा मोबाइल बैकिङबाट १ खर्ब ६७ अर्ब रुपैयाँ कारोबार भएको थियो । माघ महिनामा इन्टरनेट बैकिङ कारोबारबाट १२ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ ।
यो बाहेक विभिन्न कार्ड तथा कनेक्ट आईपीएस, वालेट क्यूआर कोर्ड, इन्टरनेट बैकिङका माध्ममबाट डिजिटल कारोबार बढ्दै गएको राष्ट्र बैंकको तथ्यांक छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकले सानका कारोबारका लागि अभियानकै रुपमा क्यूआर पेमेन्टका साथै कनेक्ट आईपीएसलाई प्रवद्र्धन गर्दै आइरहेको छ भने ठूला कारोबारको लागि रियल टाइम ग्रस सेलटमेन्ट (आरटिजीएस) को प्रयोग गर्न सुझाएको छ ।
माघ महिनामा कनेक्ट आईपीएसबाट ३२ अर्ब ८० करोड रुपैयाँको कारोबार हुँदा क्यूआर बेस पेमेन्टबाट १७ अर्ब ७६ करोडको कारोबार भएको देखिएको छ । विभिन्न वालेटबाट १७ अर्ब ११ करोड रुपैयाँ कारोबार भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
कार्डको माध्यमबाट किनमेल गर्ने र पैसाको कारोबार गर्दा पनि मोबाइल बैंकिङ सेवाबाट काम गर्ने हुनाले पछिल्लो समय कागजी नोटको प्रयोग घट्दै गएको छ । प्रवृत्ति बढेको छ । पैसाको कारोबार गर्न बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, वालेट बैंकिङ, डेबिट, भिसा तथा क्रेडिट लगायतका कार्डको प्रयोगले प्राथमिकता पाउँदा कागजी नोटको कारोबार घटेको हो ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा भएको भन्दा बाहेकको पैसालाई चलन चल्तीमा रहेको नोटको रुपमा गणना गर्ने गरिन्छ । अन्य समयको तुलनामा यस्तो रकम दशैं तिहार जस्ता चाडपर्वहरुको समयमा बढ्ने गर्दछ भने चाडपर्वपछि घट्ने गरेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ असार अन्त्यसम्म ६ खर्ब १२ अर्ब रहेको बजारमा चलनचल्तीमा रहेको नोट ७ महिनाको अवधिमा घटेर ६ खर्ब ५ अर्बमा सीमित भएको छ । चालु आवको यो अवधिमा करिब ६ अर्बले बजारमा नोटको चलनचल्ती घटेको छ ।
डिजिटल कारोबार बढेपछि एकातिर ग्राहकलाई सहज भएको छ भने अर्कोतर्फ नगद कारोबार घट्दा नोट छपाइमा लाग्ने खर्च कटौती भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार औसतमा एउटा नोट छाप्नको लागि २ रुपैयाँ खर्च हुने राष्ट्र बैंकको हिसाव छ ।
नयाँ नोट छपाइ गर्न वार्षिक करिब अर्बौं रुपैयाँ खर्च हुने रउक्त रकम विदेश बाहिरिने भएकाले नोटको संरक्षण गर्न राष्ट्र बैंकले अपिल गर्दै आएको हो । नेपालीहरुले धार्मिक कार्यमा कागजी पैसा प्रयोग गर्दा धेरै रहेकाले चाडपर्वको समयमा समेत केन्द्रीय बैंकले नोटको कम र विद्युतीय कारोबार बढी प्रयोग गर्न आग्रह गर्दै आइरहेको छ ।