बैंकहरूको आधार दर घट्यो, अब कर्जाको ब्याज पनि घट्छ

काठमाडौं । आधार दर (बेसरेट) का कारण बढेको ऋणको मूल्य अब केहि घट्ने भएको छ । पुसमहिनाको तुलनामा माघ महिनामा बैंकको आधारदर घटेपछि बैंकहरूले प्रवाह गर्ने कर्जाको ब्याजदर पनि घट्ने भएको हो । पुस महिनामा १०.९१ प्रतिशत रहेको बैंकहरूको आधार दर माघमा १०.७२ प्रतिशतमा झरिसकेको छ ।

आज चैत १ गतेबाट लागू हुने गरी वाणिज्य बैंकहरूले बचत र कल डिपोजिटको ब्याज पनि घटाएका छन् । बचतको अहिलेको ६.४२ देखि ८.४ प्रतिशतसम्मको ब्याजदरलाई घटाएर ६ देखि ८ प्रतिशत कायम गरेका छन् भने कल जिपोजिट खाताको ब्याज ३.२१ प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरेका छन् । अझ विकास बैंक र फाइनान्स कम्पनीले मुद्दति र बचत दुबै खाताको निक्षेपको ब्याजदर घटाएका छन् । यो घटेको ब्याज वैशाखबाट आधार दरमा समायोजन हुन्छ ।

यस हिसाबले वैशाखमा आधार दर ९.५ प्रतिशत हुन्छ । त्यसो हुँदा बैंकहरूले अधिकतम ५ प्रतिशत नै प्रिमियम असुल गरेपनि ऋणको ब्याज साढे १४ प्रतिशतभन्दा माथि हुँदैन । ऋणको ब्याज योभन्दा अझ घट्ने सम्भावना बढी छ । बैंकहरुलाई कर्जामा लिने र निक्षेपमा दिने (स्प्रेड दर) घटाएर ४ प्रतिशतमा ल्याउनुपर्ने दबाब छ । यसले अझ कर्जाको ब्याजदर घटाउन सहयोग पुग्ने देखिएको छ ।

मुद्दति र बचत दुवैमा माघमा घटेको ब्याज र चैतमा बचतमा घटेको ब्याज एकैपटक आधार दरमा समायोजन हुँदा आधार दर करिब १.२५ प्रतिशत बिन्दुले कम हुने देखिएको छ । यो औसत ब्याज दर हो । आधार दर कम भएका ठूला र पुराना बैंकहरुको ब्याज अझ कम हुनेछ । माघमा एक प्रतिशतले घटाएको निक्षेपको ब्याजको समायोजन यो आधार दरमा गरिएको छैन। बैंकहरुले माघमा १२.१३३ प्रतिशत रहेको साधारण मुद्दति निक्षेपको ब्याज दर ११ प्रतिशतमा झारेका थिए ।

अब दिनप्रतिदिन महँगो ब्याजमा रहेको ६५ प्रतिशत मुद्दति निक्षेप हरेक दिनजस्तो नवीकरण हुँदै जान्छ । राष्ट्र बैंकको तथ्यांकअनुसार छोटो अवधि ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको हिस्सा कुल मुद्दतिमा करिब २५ प्रतिशतको छ । अब नवीकरण हुँदा नयाँ दरमा नवीकरण हुने भएकाले लागत अझ कम परेर ऋणको ब्याज कम हुँदै जाने तथ्यांकले देखाएको छ ।

अहिले भइरहेको ब्याजमा २ देखि साढे २ प्रतिशतले कर्जाको ब्याजदर घटेमा पनि ऋणीलाई ठूलो राहत मिल्ने देखिएको छ । यसका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल पनि ब्याजदर कम गर्नुपर्ने पक्षमा उभिएका छन् । उनले जतिसक्दो चाँडो ब्याजदर घटाउन सरकार लागिपर्ने उद्यमी व्यवसायीसँगको भेटमा हिजो मंगलबार पनि आश्वासन दिएका छन् ।

एकातिर निक्षेपको ब्याजदर घट्दा आधार दरमा आएको कमी र अर्कोतर्फ सरकारले वित्तीय बजारमा तरलता प्रवाह गर्न प्रयोग गर्ने नयाँ व्यवस्थाले पनि ब्याजदर घटाउन सहयोग मिल्ने देखिएको बैकर्सहरूले पनि बताएका छन् । बैंकर्सका अनुसार अब छिट्टै कर्जाको ब्याजदर १२ प्रतिशतको हाराहारीमा आइपुग्ने उनीहरूको अनुमान छ ।

अहिले निक्षेपमा ब्याजदर घटाएर प्रिमियम दरमा पनि अधिकतम सीमा तोकियो, यसले यहि महिनाबाट कर्जामा १ प्रतिशत ब्याज त घट्छ नै अर्को भनेको आधारका आधारमा पनि ब्याजदर घट्ने निश्चित भएको छ । राष्ट्र बैंकले पनि देशमा वित्तीय स्थायित्व कायम राख्न सन्तुलित ब्याजदर राख्न पहल गरिरहेको छ ।

अर्को ब्याजदरका विषयमा सडकमा उत्रिएका उद्यमी व्यवसायीले पनि हिजो प्रधानमन्त्री दाहाललाई भेटेपछि आन्दोलन स्थगित गरेका छन् । प्रमबाट ब्याजदर घटाउने आश्वासन पाएपछि उनीहरूले आन्दोलन स्थगित गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालको परिपेक्ष्यमा कर्जाको ब्याजदर १० प्रतिशत भए अर्थतन्त्रले धान्न सक्ने प्रतिक्रिया दिएका छन् । उनले उद्योग र व्यापारको लागि ब्याजदरमा २ प्रतिशतले अन्तर हुनुपर्ने बताउँदै उद्योगीलाई व्यापारीको भन्दा २ प्रतिशत कम ब्याजदर कायम हुनु पर्ने हाम्रोअर्थसँगको कुराकानीमा बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स