काठमाडौं । डेभलपमेन्ट बैंकर्स संघले मुद्दति र बचत दुबै निक्षेपको ब्याजदर घटाएका छन् । चैत १ गतेदेखि लागू हुने गरी बैंकर्स संघको बैठकले १ वर्र्षदेखि माथिको मुद्दति खातामा एउटा र १ वर्षभन्दा कमको मुद्दतिमा अर्कोथरी ब्याज दिने निर्णय गरेको हो ।
विकास बैंकहरूले चैतबाट लागू हुने ब्याज दरलाई वर्गीकरण गरेका हुन्। उनीहरुले फागुनको तुलनामा चैतमा ब्याज केही कम गर्ने निर्णयसमेत गरेका छन् ।
अहिले मुद्दति निक्षेपमा ११.७५ प्रतिशत ब्याज दिँदै आएका विकास बैंकहरुले १ वर्षदेखि माथिको ब्याज दर ०.१५ प्रतिशत बिन्दुले घटाएर ११.६० प्रतिशत दिने निर्णय गरेका छन् ।
एक बर्षभन्दा कमको ब्याज दर ०.२५ प्रतिशत बिन्दुले घटाएर ११.५० प्रतिशत कायम गर्ने निर्णय गरेका हुन् ।
बचत खाताको ब्याज पनि घटाइएको छ । बचतको ब्याज साविकभन्दा ०.१५ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशत कायम गर्ने निर्णय गरेको हो। यो न्यूनतम ब्याज हो । बचतमा विकास बैंकहरुले अधिकतम ८.६ प्रतिशतसम्म ब्याज दिने निर्णय गरेका छन् ।
गत साता वाणिज्य बैंकहरूले मुद्दतिको ब्याज यथावत राखेर बचतको घटाउने निर्णय गरेका थिए । उनीहरूले मुद्दतिको ११ प्रतिशत राखेका छन् भने बचतको अहिलेको ब्याज दर ६.४२ देखि ८.४ प्रतिशतसम्म लाई घटाएर ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय गरेको थिए भने कल डिपोजिट खाताको निक्षेपको ब्याज ३ प्रतिशतमा झारेका छन् ।