बैंकहरूले टेरेनन राष्ट्र बैंकको निर्देशन, प्राथमिकता प्राप्त क्षेत्रमा अझै पौन ५ खर्ब कर्जा प्रवाह गर्नुपर्ने

काठमाडौं । काठमाडौं । सरकारी बैंकसहित देशमा सञ्चालित बैंकहरूले राष्ट्र बैंकको निर्देशन पालना गर्न अटेर गरेका छन् । सरकारीसहित निजी क्षेत्रबाट सञ्चालित बैंकहरूले राष्ट्र बैंकले निर्देशन गरेको प्राथमिकता प्राप्त क्षेत्रमा निर्देशित कर्जा प्रवाह नगरेर राष्ट्र बैंकलाई नटेरेका हुन् ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको प्राथमिक प्राप्त क्षेत्रमा निर्देशित कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले कृषि, ऊर्जा तथा पर्यटन, तथा लघु, साना एवम् मझौला उद्यम (एमसीएसएमआई) क्षेत्रलाई प्राथमिकताको क्षेत्रमा राखेको छ ।

सो व्यवस्थाअनुसार कृषि क्षेत्रमा कुल कर्जाको १५ प्रतिशत, पर्यटन, तथा लघु, साना एवम् मझौला उद्यममा १५ प्रतिशत र ऊर्जा क्षेत्रमा १० प्रतिशत गरी कुल कर्जाको ४० प्रतिशत यो क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेपनि कृषि विकास बैंक बाहेक अन्य कुनै पनि बैंकले निर्देशन अनुसारको कर्जा प्रवाह गरेका छैनन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास साउनदेखि पुसमहिनासम्म राष्ट्र बैंकले तोकेको प्राथमिक प्राप्त क्षेत्रमा कुल कर्जाको २८.८८ प्रतिशतमात्रै कर्जा प्रवाह भएको राष्ट्र बैंक सार्वजनिक गरेको प्रमुख वित्तीय सूचकांकमा उल्लेख गरिएको छ । वाणिज्य बैंकहरूले पुस महिनासम्म कुल ४२ खर्ब ७६ अर्ब ३३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

जबकि राष्ट्र बैंकको नियम अनुसार बैंकहरूले १७ खर्ब १० खर्ब ५३ करोड ३६ लाख रुपैयाँ प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने हुन्छ । बैंकहरूले भने सो क्षेत्रमो १२ खर्ब ३५ अर्ब ५२ लाख रुपैयाँमात्रै कर्जा प्रवाह गरेका छन् । राष्ट्र निर्देशनलाई बैंकहरूले परिपालना गर्ने हो भने अझै ४ खर्ब ७५ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा खर्च गर्नुपर्ने हुन्छ ।

सरकारी स्वामित्वको अर्को बैंक राष्ट्रिय वाणिज्य बैंकले एमसीएसएमआई क्षेत्रमा लक्ष्य अनुसार नै निर्देशित कर्जा प्रवाह गरेको देखिएपनि कृषि र ऊर्जा क्षेत्रमा निर्देशनभन्दा कम कर्जा प्रवाह गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले कृषि क्षेत्रमा कुल कर्जाको १२.१६ प्रतिशत र ऊर्जामा ६.८९ प्रतिशत कर्जा प्रवाह गरेको छ । यद्यपि एमसीएसएमआई क्षेत्रमा भने बैंकले १७.९३ प्रतिशत कर्जा प्रवाह गरेको छ । बैंकले राष्ट्र बैंक निर्देशित कर्जामा जम्मा ३६.९८ प्रतिशत कर्जा प्रवाह गरेको हो ।

अझ नेपाल बैंकले त राष्ट्र बैंक निर्देशित कर्जा तीन शीर्षकमध्य कुनै पनि शीर्षकमा पुर्याउन सकेको छैन । बैंकले कृषिक्षेत्रमा १२.३३ प्रतिशत, ऊर्जा क्षेत्रमा ६.१६ प्रतिशत र एमसीएसएमआई क्षेत्रमा १०.६६ प्रतिशतमात्रै कर्जा प्रवाह गरेको छ । यी सबैगरी बैंकले यी तीन क्षेत्रमा २९.१५ प्रतिशत कर्जा प्रवाह गरेको छ ।

निजी क्षेत्रका बैंकहरूमध्ये सबैभन्दा बढी राज्य निर्देशित कर्जा प्रवाह गर्नेमा बैंकमा एनममबि र सनराइज बैंक परेका छन् । एनएमबि बैंकले कृषि, ऊर्जा र एमसीएसएमआईमा गरी कुल कर्जाको ३२.९० प्रतिशत कर्जा प्रवाह गरको छ । बैंकले कृषि क्षेत्रमा १२.७४ प्रतिशत, एमसीएसएमआई ११.२२ प्रतिशत र ऊर्जा क्षेत्रमा ११.२२ प्रतिशत कर्जा प्रवाह गरेको छ ।

सनराइज बैंकले राज्यले प्राथमिकता निर्धारण गरेको क्षेत्रमा कुल कर्जाको ३२.४४ प्रतिशत कर्जा प्रवाह गरेको छ । बैंकले कृषि क्षेत्रमा १३.०७ प्रतिशत, ऊर्जा क्षेत्रमा ८.१० प्रतिशत र एमसीएसएमआई क्षेत्रमा ११.२७ प्रतिशत कर्जा प्रवाह गरेको हो ।

राज्यले प्राथमिकता निर्धारण गरेको क्षेत्रमा सबैभन्दा कम कर्जा लक्ष्मी बैंकले र त्यसपछि प्रभु बैंकले कर्जा प्रवाह गरेको छ । लक्ष्मी बैंकले १०.९२ प्रतिशत, ऊर्जा क्षेत्रमा ५.८७ प्रतिशत र एमसीएसएमआईमा ७.७५ प्रतिशत गरी कुल २२.५३ प्रतिशत कर्जा प्रवाह गरेको छ ।

त्यसरी नै प्रभु बैंकले कृषि क्षेत्रमा १०.७२ प्रतिशत, ऊर्जामा ६.१९ प्रतिशत र एमसीएसएमआईमा ५.६५ गरी जम्मा २२.५५ प्रतिशत कर्जा प्रवाह गरेको छ । त्यसरी नै अन्य १२ बैंकले प्राथमिक प्राप्त क्षेत्रमा २५ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेका छन् भने बाँकी बैंक उक्त क्षेत्रमा २५ प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स