कर्मचारीलाई कालोमोसो दलेर कुटपिट गरेको लघुवित्त बैंकर्स संघको भत्सना, शान्ति सुरक्षामाथि प्रश्न

काठमाडौं । नेपाल लघुवित्त वित्तीय संस्था बैंकर्स संघले कर्मचारीहरूमाथि हमला गर्ने राजनीतिक दलका कार्यकर्ता विरुद्ध कानुनी उपचार खोज्ने भएको छ । जाजरकोटमा लघलुवित्तकर्मीमाथि भएको दुर्व्यवहारको भर्त्सना गर्दै संघले राज्यको सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको हो ।

आज बुधबार प्रेस विज्ञाप्ती जारी गर्दे संघले राष्ट्र बैंक लगायत सम्बन्धी निकायको ध्यानाकर्षण गराएको हो । जाजरकोटमा एनआइसी एशिया लघुवित्तको फिल्डमा गएका कर्मचारीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले कालोमोसो दलेपछि सोको विरोध लघुवित्त बैंकर्स संघ उत्रिएको हो ।

फागुन १७ गते बुधबार (आज) बिहान जाजरकोटको भेरी नगरपालिकामा किस्ता उठाउन गएका एनआईसी एशिया लघुवित्तका कर्मचारी गोपालप्रसाद उपाध्यायलाई विप्लवका कार्यकर्ताले कालोमोसो दलेका थिए । लघुवित्तले चर्को ब्याज असुलेको, पटक–पटक घरमा ताला लगाउने धम्की दिएको र घरबारविहिन बनाएको भन्दै किस्ता उठाउन आएका लघुवित्तका कर्मचारीलाई कालोमोसो दलिएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपाध्यायलाई अज्ञात समूहले कुटपिटसहित कालो मोसो दली अपमानजनक व्यवहार गरेको भन्दै त्यस घटनाको भर्त्सना गरेको हो । उक्त समूहले उपाध्यायबाट संकलन गरी ल्याएको रकमसमेत लुटेर फरार भएको घटनाप्रति संघले निन्दा व्यक्त गरेको छ ।

लघुवित्त वित्तीय संस्थाहरुले विगत ३० वर्षदेखि ग्रामीण क्षेत्रमा गई बिनाधितो कर्जा उपलब्ध गराई ग्रामीण विपन्न महिलाहरुको जीवनस्तर माथि उकास्न निरन्तर लागिरहेको संघले जनाएको छ । ‘यही क्रममा जाजरकोटजस्तो अति विकट क्षेत्रमा गई गरिबी न्यूनीकरण र महिला सशक्तिकरणका लागि अहोरात्र खटिने लघुवित्तका कर्मचारीमाथि भएको व्यवहार अमानवीय र अराजकताको पराकाष्ठ हो’, विज्ञप्तिमा भनिएको छ, ‘यसको जति नै निन्दा गरे पनि कमै हुन्छ नै यसले राज्यको सुरक्षा प्रणालीमा पनि प्रश्न उठाएको छ।’

वित्तीय कारोवार अत्यावश्यक सेवा रहेको उल्लेख गर्दै संघले भनेको छ, ‘तर यो सेवा शान्ति, सुरक्षा तथा अमनचैन बिना प्रदान गर्न सकिँदैन । त्यसमा पनि घरदैलोमा वित्तीय सेवा प्रदान गर्न फिल्डमा खटिई कार्य गर्नुपर्ने लघुवित्त कर्मचारीहरुका लागि त शान्ति–सुरक्षाको नै आवश्यक पर्दछ। त्यसैले बिना बाधा, व्यवधान, बिना रोकतोक सुरक्षित र शान्तिपूर्ण तवरबाट काम गर्न सुरक्षित कार्य वातावरणको सुनिश्चतता गर्न नेपाल सरकार र तथा नियामक निकाय नेपाल राष्ट्र बैंकसँग अपिल गर्दछौँ।’

सम्पूर्ण लघुवित्तका कर्मचारी साथीहरु तथा अन्य बैंक वित्तीय संस्थाका कर्मचारीहरु यो विषम परिस्थितिमा सजग, सचेत र संयमतापूर्वक आफ्ना ग्राहक सदस्य, अभिभावक र स्थानीय निकायसँग समन्वय गरी कार्य गर्न पनि अपिल पनि संघले गरेको छ। ‘हाल देशमा अराजकताको अवस्था सिर्जना हुँदै गएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो परिस्थतिमा कत्ति पनि विचलित नभई आफ्नो सुरक्षाको ख्याल गर्न पनि लघुवित्तकर्मी सबै कर्मचारी साथीहरुलाई अनुरोध गर्दछौँ ।’

यस्ता गतिविधिबाट कहीँ कसैका लाभ नभई यसले सम्पूर्ण जनमानसमा नकारात्मक प्रभाव पार्ने र देशमा अराजकतालाई बढवा दिने संघले जनाएको छ। ‘यस्ता घटनाले आर्थिक अस्थिरता निम्त्याउने र देशको अर्थतन्त्र नै दुर्घटनाग्रस्त हुने सम्भावना हुन्छ’, विज्ञप्तिमा भनिएको, ‘त्यसैले यस्ता गतिविधि तत्काल बन्द गरी शान्तिपूर्ण काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित सबै पक्षसँग समेत अपिल गर्दछौँ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स