राष्ट्र बैंकको निर्देशन पछि लघुवित्तले प्रवाह गर्ने ऋण ठप्प

काठमाडौं । राष्ट्रको पछिल्लो निर्देशनपछि लघुवित्त वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जा ठप्प भएको छ । राष्ट्र बैंकले दिएको निर्देशनअनुसार ऋणको सीमा नाघेका र एकभन्दा बढी संस्थाबाट लिएका ऋणीले थप कर्जा लिन नपाउने भएपछि लघुवित्तले प्रवाह गर्दै आएको ऋण ठप्प भएको हो । राष्ट्र बैंकले गरेको पछिल्लो निर्णयले अहिले सहजै कर्जा दिन सक्ने अवस्था छैन । किनकि एक व्यक्तिले धेरै वटा संस्थाबाट कर्जा लिएका छन् । सो नसुधारिएसम्म कर्जा दिन सक्ने अवस्था छैन ।सो कारण लघुवित्तबाट प्रवाह हुँदै आएको कर्जा ठप्प भएको लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष बसन्त लम्सालले बताए ।

‘निर्देशन पछि लघुवित्त ऋण दिन सक्ने अवस्था छैनन्,’ उनले भने ‘ऋण उठाउन पनि तत्कालै सम्भव छैन ।’ अहिलेको यो जटिल अवस्थामा राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले ऋणी र लघुवित्त दुबैलाई अप्ठ्यारो परिस्थितिमा उभ्याएको छ ।
राष्ट्र बैंकले लिएको पछिल्लो नीतिका कारण लघुवित्तमात्रै नभइ यसका ऋणीसमेत अप्ठ्यारोमा परेको उनले हाम्रोअर्थलाई बताए ।

‘राष्ट्र बैंकको नीतिले लघुवित्त र यसका ऋणीलाई प्रेसरमा पारेको छ,’ उनले भने ‘अहिले सबैतिर अप्ठ्यारो अवस्था भएकोले प्रेसर गरेरमात्रै पैसा आउने अवस्था छैन । राष्ट्र बैंकको निर्देशनअनुसार हामीले भाका नाघेको ऋणलाई अब डिफल्ट क्याटोगोरी राख्नु पर्ने हुन्छ । त्यसो गर्दा किस्ता नतिर्नेहरू ऋणीहरू कालोसूचीमा पर्नुहुन्छ । यो कुरा बुझ्दा बुझ्दै पनि पनि राष्ट्र बैंकले ल्याएको पछिल्लो निर्देशनले कालोसूचीमा पर्ने ऋणीको संख्या अझ ह्वात्तै बढ्छ । ’

पहिला कर्जा सूचना केन्द्रमा लघुवित्तको कुनै सूचना जाने व्यवस्था थिएन । २ वर्षअघि लघुवित्तको पनि डिफल्ट भएको लोन कालोसूचीमा राख्ने व्यवस्था भएको हो । त्यसपछिमात्रै हामीलाई एकैजनाले धेरै ठाउँबाट कर्जा लिएको थाहा भएको हो । हामी यसलाई असर नपर्ने गरी सुधारको पाटोमानै थियौ ।

संघका अध्यक्ष प्रकाशराज शर्माले पनि राष्ट्र बैंकको नीतिका कारण कर्जा प्रवाह सुस्त भएको बताए । ‘धेरै ऋणीहरू दुई/तीन वटा माइक्रोफाइनान्समा सदस्य बन्ने र सबैतिर ऋण लिएका कारणले अहिले ऋण नपाउने अवस्था सिर्जना भएको छ,’ उनले भने ‘ देशमा सञ्चालनमा रहेका ६४ लघुवित्त र त्यसका शाखाबाट गरी प्राय सदस्यहरूले कम्तीमा पनि २/३ वटा संस्थाबाट ऋण दिएको देखिएको छ ।

सो कारणले कर्जा प्रवाह हुन सक्ने अवस्था रहेन । अब ऋण लिनको लागि एक व्यक्ति एउटा संस्थाको मात्रै सदस्य र ऋणी हुुन पाउने व्यवस्था छ । अब ती ऋणीले आफूले रोजेको लघुवित्त बाहेक अन्यबाट लिएको ऋण चुक्ता गरेपछि मात्रै आफू सदस्य बन्न चाहेको संस्थाबाट ऋण पाउनु हुनेछ ।’

प्राय लघुवित्तका सदस्यहरू अर्को संस्थामा पनि आवद्ध भएकोले त्यसको ऋण चुक्ता गरी सदस्य छाड्न पनि नमिल्ने अवस्था छ । संस्था छाड्नका लागि उनीहरूले पहिलाको ऋण चुक्ता गर्नुपर्ने हुन्छ ।’ राष्ट्र बैंकको निर्देशनले हामीलाई मात्र नभइ राम्रा र असल ऋणीलाई समेत अप्ठ्यारो परेको अवस्था छ ।

राष्ट्र बैंकको निर्देशन पछि अधिकांश लघुवित्तका जिल्ला शाखाबाट कर्जा प्रवाह हुन नसकिरहेको लघुवित्त शाखा प्रमुखहरूले बताएका छन् । एउटा संस्थामामात्रै आवद्ध भएका ऋणीले भने कर्जा पाएपनि अन्यले भने पाएका छैनन् । रामेछाप मन्थलीका एक ऋणीले उनी आफू अन्य संस्थामा आवद्ध भएकोले ऋण नपाएको बताए ।

देशको अवस्था बुझ्दा बुझ्दै पनि नियामक निकायले एकै पटक लिएको यस्तो निर्णय संशोधन हुनुपर्ने माग भने लघुवित्तकर्मीले राख्दै आएका छन् । निर्देशिका जारी पछि विभिन्न समयमा बसेको राष्ट्र बैंक र लघुवित्तकर्मीसँगको छलफलपछि अहिले राष्ट्र बैंकले लिएको नीति अव्यवहारिक भएको राष्ट्र बैंकको पनि बुझाइ छ ।

राष्ट्र बैंकले लिएको नीतिका कारण अहिलेको असहज अवस्थाबाट कसरी सहजै अवतरण गर्न सकिन्छ भन्ने उपायको खोजी गरिरहेको छ । राष्ट्र बैंकले पनि पछिल्लो समय त्यो कुरा बुझेको छ । सम्भवतः अब छिट्टै राष्ट्र बैंकले लघुवित्तका सम्बन्धमा ल्याएको पछिल्लो निर्णय संशोधन गर्नेछ ।

लघुवित्तका ऋणीलाई ऋण तिने समय सीमा निर्धारण गर्ने र दुई/तीन वटा संस्थामा सदस्य रहेकालाई एक व्यक्ति एउटा संस्थामात्रै सदस्य बन्नलाई निर्देश गर्ने बुझिएको छ । राष्ट्र बैंकले जारी गरेको ७ लाखभन्दा माथि दिन नपाउने, सीमा नाघ्ने गरी पछिल्लो पटक कर्जा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाले सीमाभन्दा बढी भएको कर्जा रकममा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेलगायतका व्यवस्था गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स