काठमाडौं । विकास बैंकहरुले गएको एक सातामा निक्षेप संकलन र कर्जा लगानी दुवैको दायरा विस्तार गरेका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार एक साता (भदौ २६ गतेदेखि असोज १ गते) सम्मको अवधिमा विकास बैंकहरुले निक्षेप ०.५५ प्रतिशत र कर्जा लगानी १.३९ प्रतिशतले विस्तार गरेका गरेका छन् ।
राष्ट्रिय र क्षेत्रियगरी १८ वटा विकास बैंकहरु सञ्चालनमा छन् । एसोसिएसनले कर्पोरेट डेभलपमेन्ट बैंक, सहारा विकास बैंक र सालपा विकास बैंकको तथ्यांक समावेश गरेको छैन ।
राष्ट्रिय विकास बैंकले निक्षेप ०.५९ प्रतिशत र कर्जा लगानी १.४६ प्रतिशतले बढाएका छन् । क्षेत्रिय विकास बैंकको निक्षेप बढेको छैन भने कर्जा ०.४५ प्रतिशतले बढेको छ ।
अघिल्लो साता विकास बैंकहरुसँग निक्षेप ४ खर्ब ४९ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ थियो । गत साता २ अर्ब ४८ करोड २ लाख रुपैयाँले निक्षेप संकलन बढाएर ४ खर्ब ५१ अर्ब ८१ करोड ९४ लाख रुपैयाँ पुर्याएका छन् ।
अघिल्लो साता विकास बैंकहरुले ३ खर्ब ९६ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत साता ५ अर्ब ५१ करोड ८० लाख रुपैयाँले कर्जा बढाएर विकास बैंकहरुले ४ खर्ब २ अर्ब ४० करोड ३९ लाख रुपैयाँ पुर्याएका छन् ।