काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनामा ५४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । भदौ पहिलो, दोस्रो र तेस्रो साता निक्षेप संकलनमा खासै प्रगति नदेखिएपनि चौथो साता भने निक्षेप संकलन पनि बढेको छ ।
भदौ अन्तिम साता २५ गतेदेखि ३१ गतेसम्मको यो अवधिमा २६ अर्ब निक्षेप संकलन गरेको नेपास बैकर्स संघको तथ्यांकले देखाएको छ । पछिल्लो दिनमा वाणिज्य बैंकहरूले दैनिक पौने ४ अर्बका दरले निक्षेप संकलन गरेको देखिन्छ । भदौ ४ गते ४१ खर्ब १७ अर्ब रहेको वाणिज्य बैंकहरूको कुल निक्षेप ३१ गते आइपुग्दा बढेर ५४ अर्बले बढेर ४१ खर्ब ७१ अर्ब पुगेको छ ।
निक्षेपको तुलनामा वाणिज्य बैंकहरूले भदौ महिनामा पनि उल्लेख्य कर्जा प्रवाह गरेका छन् । बैंकहरूले दैनिक करिब साढे ३ अर्ब कर्जा प्रवाह गरिरहेका छन् । निक्षेपजस्तै कर्जा प्रवाह पनि भदौ अन्तिम साता बढी भएको छ । भदौ २५ गतेदेखि ३१ गतेसम्म वाणिज्य बैंकहरूले २८ अर्ब कर्जा प्रवाह गरेको संघको तथ्यांकमा उल्लेख गरिएको छ ।
भदौ ४ गतेदेखि ११ गतेसम्म बैंकहरूले १९ अर्ब कर्जा प्रवाह गरेका थिए । भदौ ११ गतेदेखि १८ गतेसम्म २७ वटा वाणिज्य बैंकले २२ अर्ब कर्जा प्रवाह गरेका थिए भने भदौ १८ देखि २५ गतेसम्म २५ अर्ब कर्जा प्रवाह गरेका छन् । समग्रमा भदौमा १ देखि ३१ गतेसम्म १ खर्ब ८ अर्ब कर्जा प्रवाह गरेका छन् ।
बैंकहरूले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी भएकोले बैंकहरूमा लगानी योग्य पुँजी सकिएको छ भने सरकारको ढुकुटीमा १ खर्बभन्दा बढी पैसा जम्मा भएको छ ।
निक्षेप संकलनमा एनआईसी एशिया अगाडि
यो दुई महिनाको अवधिमा सबैभन्दा बढी निक्षेप संकलन गर्ने बैंकका रुपमा एनआईसी एसिया बैंक नै देखिएको छ । एनआईसी एसिया बैंकले यो अवधिमा १४ अर्ब ६५ रुपैयाँले निक्षेप बढाएको छ । गत असार मसान्तसम्म कुल ३ खर्ब २५ करोड रुपैयाँ निक्षेप रहेको यस बैंकको भदौ मसान्तसम्म कुल ३ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।
यस्तै, कर्जा लगानीमा एनआईसीसँग प्रतिस्पर्धा गरेको ग्लोबल आईएमई बैंकको निक्षेप भने असार मसान्तसम्मको तुलनामा भदौ महिनामा ७ अर्ब रुपैयाँले घटेको छ । गत असारमा २ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकले भदौमा भने निक्षेप घटेर २ खर्ब ७५ अर्ब रुपैयाँमा सीमित भएको छ ।
यस्तै, भदौ महिनामा राष्ट्रिय वाणिज्य बैंकको निक्षेप २८ अर्ब ५६ करोड रुपैयाँले घटेको छ । जुन बैंकिङ क्षेत्रको सबैभन्दा बढी गिरावट हो । यो दुई महिनाको अवधिमा १४ वटा बैंकको निक्षेप घटेको छ भने १३ वटा बैंकको निक्षेप बढेको तथ्यांकले देखाएको छ ।