यस्ता छन् चालु आवमा बढी बिजनेश र निक्षेप संकलन गर्ने ‘टप टेन’ बैंक

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म सबैभन्दा बढी बिजनेश नबिल र सबैभन्दा बढी निक्षेप राष्ट्रिय वाणिज्य बैंकले गरेका छन् । बिजनेशका हिसावले नबिल बैंक र एनआईसी एशियाको प्रतिस्पर्धा देखिएको छ भने निक्षेप संकलनमा राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको प्रतिस्पर्धा देखिएको छ ।

बिजनेशमा पहिलो स्थानमा रहेको नबिल बैंक निक्षेप संकलनमा भने दोस्रो स्थानमा रहेको छ । चालु आवको माघ महिनासम्म नबिल बैंकले १४ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ३० अर्ब ८८ करोड निक्षेप संकलन गरेको छ ।

निक्षेप संकलनमा पहिलो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंक कर्जा प्रवाहमा भने नवौं स्थानमा रहेको छ । चालु आवको साउनदेखि माघसम्म राष्ट्रिय वाणिज्य बैंकले ३६ अर्ब निक्षेप संकलन गरेर ७ अर्ब २६ करोड रुपैयाँमात्रै कर्जा प्रवाह गरेको छ ।

बढी कर्जा प्रवाह गर्ने दोस्रो बैंकको स्थानमा रहेको एनआईसी एशिया निक्षेप संकलनमा तेस्रो स्थानमा रहेको छ । एनआईसी एशिया बैंकले चालु आवको माघ महिनासम्म १३ अर्ब ३४ करोड कर्जा प्रवाह गरेर २६अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

कर्जा प्रवाहमा तेस्रो स्थानमा रहेको नेपाल एसबिआई बैंक निक्षेप संकलनमा सातौं स्थानमा रहेको छ । बैंकले साउनदेखि माघसम्म १४ अर्ब ४२ करोड निक्षेप संकलन गरेर १२ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरको छ ।
त्यस्तै कर्जा प्रवाहमा चौथो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेर ९ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरेर छ ।

बढी बिजनेश गर्ने बैंकको पाँचौ स्थानमा रहेको एनएमबि बैंकले चालु आवको माघसम्म ९ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने निक्षेप संकलनमा उक्त बैंक ‘टप टेन’ भित्र परेको छैन ।

छैटौ स्थानमा रहेको एभरेष्ट बैंकले साउनदेखि माघ महिनासम्म ८ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बढी कर्जा प्रवाह गर्ने बैंकको सातौ स्थानमा परेको प्रभु बैंकले साउनदेखि माघ महिनासम्म ७ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

आठौं स्थानमा रहेको हिमालयन बैंकले ७.६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको भने दशौं स्थानमा सिटिजन्स बैंक इन्टरनेशलनले ६ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यी हुन् चालु आवमा बढी बिजनेश गर्ने ‘टप टेन’ बैंक

चालु आवको साउनदेखि माघसम्म सबैभन्दा बढी निक्षेप संकलन सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले गरेको छ । नबिल बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई पच्छाइरेको छ भने एनआईसी एशिया बैंकले नबिल बैंकलाई पच्छाइ रहेको छ ।
सरकारी स्वामित्वको अर्को बैंक नेपाल बैंक र ग्लोबल आईएमई बैंकको प्रतिस्पर्धा बढ्दै गएको देखिन्छ । नेपाल बैंकले समीक्षा अवधिमा २१ अर्ब ७३ करोड निक्षेप संकलन गरेको छ भने ग्लोबल आईएमई बैंकले १८ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

त्यसपछि अर्को प्रतिस्पर्धामा सिद्धार्थ र नेपाल एसबिआई बैंक देखिएका छन् । चालु आवको साउनदेखि माघ महिनासम्म सिद्धार्थ बैंकले १५ अर्ब ८९ करोड निक्षेप संकलन गर्दा नेपाल एसबिआई बैंकले १४ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरेको देखिएको छ । यो अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ९ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरेर बढी निक्षेप संकलन गर्ने बैंकको आठौं स्थानमा परेको छ ।

निक्षेप संकलनमा कृषि विकास बैंक र लक्ष्मी बैंकको प्रतिस्पर्धा पनि उस्तै देखिन्छ । बढी निक्षेप संकलन गर्ने नवौ स्थानमा रहेको कृषि विकास बैंकले ८ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने लक्ष्मी बैंकले ८ अर्ब ३१ करोड निक्षेप संकलन गरेको छ ।

यी १० बैंकले गरे चालु आव माघसम्म बढी निक्षेप संकलन

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स