अल्पकालीन खर्च व्यवस्थापनाको लागि आज १८ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने खर्च रकम जुटाउन अल्पकालीन खर्च व्यवस्थापनाको लागि आज १८ अर्बको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । सरकारले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदादिएका कारण नेपाल राष्ट्र बैंकले आज फागुन २ गते १८ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ ।

यसअघि यी ट्रेजरी बिलको बोलकबोल फागुन १ गते गर्ने भनिएको थियो । तर, सरकारले सार्वजनिक विदा दिएपछि बोलकबोलको मिति आज सारिएको हो ।

बैंकले आजै जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब रुपैयाँ र १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ ।
यी ट्रेजरी बिल क्रमशः फागुन ३० गते, २०८० वैशाख जेठ २ गते र २०८० साउन ३० गते परिपक्व हुनेछन् । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

यी ट्रेजरी बिलका आज दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन पाउनेछन् । बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स