मौद्रिक नीति अर्धवार्षिक समीक्षाः सेयर धितो कर्जादेखि रियलस्टेट गणनामा समेत लचकता, एसएमईलाई विशेष प्याकेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले अर्थतन्त्रलाई चलायमान गारउने गरी नीतिगत व्यवस्थामा पुनरावलोकन गर्ने भएको छ । राष्ट्र बैंकले हालको १२ करोडको सीमालाई बढाउनुका साथै उत्पादकत्व वृद्धि क्षेत्रमा लचकता अपनाउने देखिएको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार हालको सेयर धितो कर्जाको सीमा १२ करोडमा वृद्धि गरी दोब्बर बनाउने बुझिएको छ । सेयर धितो ऋणको जोखिम भारित सम्पतिलाई कम गरी विद्यमान व्यवस्था १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झार्ने तयारी पनि राष्ट्र बैंकले गरेको बुझिएको छ ।

राष्ट्र बैंकले साना तथा मझौला उद्योल(एसएमई)लाई राहत मिल्नेगरी विशेष नीतिगत प्याकेजको व्यवस्था गर्ने भएको छ ।
ऋणीले बैंकको ऋण तिर्न नसक्दा दिनहुँ घरजग्गा लिलामी र कालोसूचीमा पर्ने ऋणीको संख्या बढ्दै गएपछि राष्ट्र बैंकले त्यस्ता ऋणीलाई ध्यानमा राखेर नीतिगत व्यवस्था गर्न लागेको हो । पछिल्लो समय ठूला ऋणीभन्दा ४/५ करोड रुपैयाँसम्म ऋण लिएर उद्यम व्यवसाय गरिरहेका ऋणीहरू बढी पीडामा छन् अर्थात ऋण तिर्न सकिरहेका छैनन् ।

यस्ता ऋणीहरुको ऋण पुनर्संरचना तथा पुनर्तालिकीकरणको नीति लिएर राहत दिन खोजेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
‘विशेष गरेर राष्ट्र बैंकले साना तथा मझौला उद्यमी व्यवसायीलाई सहयोग गर्ने हिसाबले मौद्रिक नीतिको समीक्षा आउने भएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ‘ राष्ट्र बैंक आन्तरिक उत्पादन र माग बढाउन विशेष रुपमा लागेको छ । कृषि तथा साना उद्यम क्षेत्र निक्कै दुःख र पीडा पाएका छन् । उनीहरुका लागि ब्याज दरमा केहि राहत दिनेदेखि ऋण पुनर्संरचनासम्मका सुविधा दिने तयारी राष्ट्र बैंकले गरेको हो ।’

‘साथै, घरबासको मौलिक हक भएकोले घर खरीदकर्ताका लागि समेत केहि व्यवस्था ल्याउने भएको छ ।’ राष्ट्र बैंकले घर खरीदमा एक करोड ५० लाख रुपैयाँसम्मको ऋणलाई रियलस्टेटमा गणना गर्ने नीतिमा पुनरावलोकन एक करोड ८० लाख वा २ करोड रुपैयाँसम्म पुर्याउन गृहकार्य पनि गरिरहेको छ । किनकी अहिले साढे १ करोड रुपैयाँले घर बनाउन त्यति सहज नभएकोले उसले घर खरिद कर्जाको सीमा बढाएर रियलस्टेटमा गणना गर्ने नीति लिन लागेको बुझिएको छ ।

मौद्रिक नीति समीक्षा निर्माणको जिम्मेवारी पाएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले मौद्रिक नीति अर्धवार्षिक समीक्षाको अन्तिम खाका तयार पारी उच्च व्यवस्थापनबाट समेत पारित गरिसकेको छ भने भोलि शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाएर छलफल गरी दिउँसो २ बजे सम्भव भएसम्म मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स