काठमाडौं । पुस महिनामा विदेशी विनिमय सञ्चिति बढेको छ । पुसमहिनासम्म भएको विदेशी मुद्रा सञ्चितिले १०.४ महिनाको वस्तु आयात धान्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.४ महिनाको वस्तु आयात धान्ने देखिएको हो । सञ्चितिले ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७९ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.६ प्रतिशत, ७५.५ प्रतिशत र २३.४ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।
२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले वृद्धि भई २०७९ पुस मसान्तमा १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ पुस मसान्तमा १२.० प्रतिशतले वृद्धि भई ११८३ अर्ब ३७ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रहेकोमा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले कमी आई १५३ अर्ब ९१ करोड कायम भएको छ । २०७९ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ ।