राष्ट्र बैंकको छापमा ‘असतो मा सदगमय’ राख्ने निर्णय पनि हिमालयन शम्शेर कै

काठमाडौं । हिमालय शम्शेर राणा, जसले नेपाल राष्ट्र बैंकको छापमा ‘असतो मा सदगमय’ भन्ने निर्देशक बचन राख्न लगाए, उनको आज बिहान निमुनीयाका कारण निधन भएको छ । उनैको सुझबुझले नेपाल राष्ट्र बैंकको लागोमा उक्त शब्द राखिएको हो । उनको निधनले वित्तीय क्षेत्रले अभिभावक गुमाएको छ भने राष्ट्रको एउटा खम्बा ढलेको छ ।

नेपाली रुपैयाँलाई स्थापित बनाउनेदेखि राष्ट्र बैँकले आर्थिक सल्लाहकारको कर्तव्य निर्वाह गर्दा नेपाल सरकारलाई सत् परामर्श दिनुपर्छ भन्ने मान्यता राखेर उनले राष्ट्र बैंकको छापमा ‘असतो मा सदगमय’ भन्ने निर्देशक बचन राख्न लगाएका थिए ।

हुन त हिमालय शमशेर राणा प्रधान मन्त्री श्री ३ देव शम्शेरको नाती थिए । सोही कारण उनले जन्मँदै कर्नेल उपाधि पनि पाएका थिए । उनी पनि देशको प्रधानमन्त्री बन्ने रोलक्रममै थिए । तर, देशमा राणा शासनको अन्त्य भएर प्रजातन्त्रको उदय भयो । त्यसपछि बनेको सरकारले हिमालय शमशेरलाई अर्थ सचिव बनायो ।

अर्थसचिव हिमालय शमशेर जबराले अर्थमन्त्रीले उनी लगायत तीनजना एमए पास गरेका युवालाई केही दिन काम लगाई राम्रो कामको आधारमा उनलाई सचिवमा छानेको थियो । उनले वि.सं.२००७ सालपछि ५ वर्ष देशको पहिलो अर्थ सचिव भएर अर्थतन्त्र हाक्ने काम गरे । कार्यरत रहँदा अर्थ मन्त्रालय र त्यस मन्त्रालय मातहतका नयाँ निकायहरू संस्थापन गर्न सक्रिय भूमिका निर्वाह गरे ।

देशमा भर्खर राणा शासनको अन्त्य भएको र नेपाल नयाँ युगमा प्रवेश गरेको अवस्था थियो । त्यस बेला देशको विकासका लागि ठूलो रकम आवश्यक थियो । त्यो रकम जुटाउनका लागि उनले भन्सारलाई आधुनिकीकरण गर्ने अभियान चलाएँ ।

अन्तःशुल्क विभाग खडा गरेँ । राजस्व प्रशासनको पारदर्शिताका लागि महालेखा परीक्षक कार्यालय गठन गरे । यसले देशको प्रगतिको आधारहरू खडा भए । उनले तयार पारेको यहि आधारशीलामा आज पनि देश अगाडि बढिरहेको छ । यो अर्थमा मलाई आज पनि गर्व लाग्छ ।

२०१३ सालमा राष्ट्र बैंक स्थापना भयो । त्यतिबेला नेपालमा भारतीय मुद्राको विनिमय दर असन तथा मखनका व्यापारीले तोक्थे । नेपालको तराई क्षेत्रमा पुरै भारतीय रुपैयाँको कारोबार हुन्थ्यो । जब उनी नेपाल राष्ट्र बैंकका गभर्नर बने त्यसपछि वर्षोदेखि तराईमा चलनचल्तीमा रहेको भारतीय रुपैयाँलाई विस्तापित गरी नेपाली रुपैयाँलाई स्थापित भयो । यतिमात्रै होइन उनले नै नेपाल भारतबीच स्थायी विनिमय दर पनि फिक्स गरेका हुन् । उनकै सुत्रधारबाट थालनी भएको यो नेपाल भारतबीचको स्थायी विनिमयर आजसम्म पनि परिवर्तन भएको छैन ।

उनको ४ वर्ष ८ महिना राष्ट्र बैंकको बागडोर समाउँदा देशमा दूरगामी असर पार्ने धेरै रणनीतिक योजना तथा कार्यक्रम भएका छन् । जसले नेपाली मौद्रिक बजार तथा अर्थतन्त्रले सदैव सम्झिनै पर्ने हुन्छ ।

अर्थ सचिवपछि उनले नेपाल राष्ट्र बैँकको पहिलो गभर्नरमा नियुक्त भई सो बैंकलाई संस्थापन गर्ने अवसर पाए । राष्ट्र बैंक स्थापना हुँदा लोगोमा ‘असतोमा सदगमय’ भन्ने निर्देशक बचन राख्ने शब्द पनि उनले नै राख्न लगाएका हुन् । राष्ट्र बैँकले आर्थिक सल्लाहकारको कर्तव्य निर्वाह गर्दा नेपाल सरकारलाई सत् परामर्श दिनुपर्छ भन्ने मान्यता राख्दै राष्ट्र बैंकको संस्थाको छापमा ‘असतोमा सद् गमय’ भन्ने निर्देशक बचन राख्न लगाएका हुन् ।

त्यसबेला नेपाल राष्ट्र बैंक स्थापना गर्नुको मुख्य उद्देश्य एउटा मुलुकमा एउटै मुद्रा चलनचल्तीमा हुनुपर्छ भन्ने थियो । २०१३ सालमा नेपालमा द्वध मुद्रा चलन थियो । काठमाडौं उपत्यका र पहाडमा नेपाली रुपैयाँ चलनचल्तीमा हुने, झापादेखि कन्चपुरसम्मको तराई र भित्री मधेशमा भारतीय मुद्रा चलनमा थियो । सरकारले नै भारतीय रुपैयाँ चलनचल्तीमा ल्याएको हो । भारुमै मालपोत उठाउँथ्यो, भारुमै खर्च पनि हुन्थ्यो ।

राजा महेन्द्रले नेपालभर नेपाली रुपैयाँ चलनचल्तीमा ल्याउने उद्देश्यका साथ राष्ट्र बैंक स्थापना गरेका थिए । नेपाल राष्ट्र बैंक स्थापना भएपछि बैंक अफ इग्ल्यिान्डदेखि सबै ठाउँमा खाता खोलियो । ब्रिटिसहरूले गोर्खालीहरूको पेन्सनका लागि जुट पाउन्ड साट्न राष्ट्र बैंकमा आउन थाले । त्यसपछि विदेशी विनियममा नेपाल आत्मनिर्भर बन्दै गयो । उनकै देनले आफ्नो कमाइबाट नेपाल आफैले खर्च गर्न सक्ने भयो ।

जापान सरकारले राणालाई नेपाल र जापानबीच आर्थिक सम्बन्धको सूत्रपात गर्ने व्यक्तिका रूपमा लिने गरेको छ । राणाले दोस्रो विश्वयुद्धपछि जापानले आर्थिक पुनरुत्थान गरेपछि जापानको भ्रमण गरेका थिए । उनकै पहलमा सन् १९६० मा नेपालले बैंक अफ जापानमा खाता खोलेको थियो । बैंक अफ जापानमा खाता खोल्ने नेपाल पहिलो विदेशी राष्ट्र हो ।

राष्ट्र बैंक स्थापना भएको २०–२५ वर्षसम्म बैंकहरूको नियमन र अनुगमन गर्ने कामै भएन । नेपाली मुद्रा कसरी चलाउने भन्नेमै ५ वर्ष बित्यो । त्यसपछि विदेशी विनियमको काम भयो । नोट निष्काशनको प्रवन्ध उनकै पालामा भएको हो । जुद्ध शमशेरको पालामा नेपाली नोट निष्कासन भयो, त्यसबेला कागजको मुद्रा निष्कासन गर्दा सुरक्षण राख्नुपर्ने प्रावधान थिएन ।

राष्ट्र बैंक स्थापना भएपछि नोट निष्कासनको व्यवस्थापन पनि मिल्यो । त्यसको अर्थ नोट निष्कासन गर्न सरकारले सीमा तोक्थ्यो । त्यसको ५० प्रतिशत सुन, चाँदी राख्नुपर्ने ऐन नियम बनाए । नोट निष्कासन गरिसकेपछि नोट च्यात्यो, महिल्यो भने त्यसलाई साट्ने प्रणाली थिएन । त्यसको व्यवस्था पनि उनैले गरे ।

त्यसपछि पनि भारु नचल्ने भने होइन तर, सहजताका साथ नेरुबाट भारु र भारुबाट नेरु साट्न सक्ने अवस्था बनाउनु थियो । यसका लागि प्रणालीबाटै सटही दर निर्धारण गर्नुपर्ने आवश्यकता देखियो । उनले भारु र नेरुबीच सहजीकरण गर्न इलामदेखि कैलालीसम्म अध्ययन गराए । अध्ययन पश्चात १०० भारु बराबार १४५ नेरु कामय गरियो, ट्रयालको रुपमा ।

तर, यसले बजारमा समस्या ल्याउने जस्तो देखियो अर्थात व्यवहारिक देखिएन र पछि परिमार्जन गरेर १०० भारु बराबर नेपाली १६० रुपैयाँ कायम भयो । आज पनि त्यहि दरमा भारु र नेरुको कारोबार भइरहेको छ । उनले त्यति बेला लागू गरेको भिजन अहिले ७ दशकसम्म पनि सोहि दर कार्यान्वयनमा छ ।

पछिल्लो समय नेपाल भारतबीच भएको यो स्थायी विनिमय दर परिवर्तन गर्ने विषयमा कुरा उठेपनि शम्शेरले राजनीतिक स्थायित्व नभइ परिवर्तन गर्न नहुने विचार राख्दै आएका थिए । जब राजनीतिक स्थायित्व हुन्छ, तबमात्रै यो दर परिवर्तन गर्नुपर्छ भन्ने उनको भनाइ थियो । विश्व बजारमा भारतीय रुपैयाँ कमजोर बन्दै गएपछि उनले पनि अब नेरु र भारुबीचको स्थायी विनिमय दर संशोधन हुनुपर्छ भन्ने तर्क राख्दै आएका थिए ।

उनको गरेको यो सुत्रपात उनको जीवनकालसम्म चल्यो । यद्यपि सटही दरलाई पुनरावलोकन गर्न वहस भने सुरु भइसकेको छ । १६० को दरमा भारु राख्दा वैदेशिक मुद्रा विनिमयको जोखिम कम भएको थियो । जसले गर्दा आर्थिक कारोबार गर्न सहज भएको थियो । अहिलेको आर्थिक अवस्था हेरेर, माग र आपूर्तिको अवस्था हेरेर भारु सटही दर पुनरावलोकन गर्नुपर्छ ।

देशमा राजनीतिक स्थिरता भएको बेलामा, आर्थिक वृद्धि बढेका बेलामा यसलाई पुनरावलोकन गर्नु पर्छ भन्ने मेरो सुझाव छ । यसलाई तार्किक रुपमा पुनरावलोकन गरिनु पर्छ । नभए यसले पैसा जम्मा गर्नेलाई फाइदा पुग्छ र आम जनजीवनमा नराम्रो असर गर्छ । पीडा दिनसक्छ, उनले भन्ने गरेका थिए ।

पिता जर्नेल लक्ष्मण शमशेर जबरा र माता विजयालक्ष्मीको कोखबाट सन् १९२८ जनवरी १० मा जन्मिएका राणाले भारतको बम्बईस्थित स्कुल अफ इकोनोमिक्स एण्ड सोसिओेलोजीबाट अर्थशास्त्रमा स्नातकोत्तर तह पूरा गरेका थिए । सन् १९५० मा अर्थमन्त्रालयको सचिवका रुपमा काम सुरु गरेका जबरा सन् १९५१ मा नेपाल बैंकमा महानिर्देशक थिए । उनले सन् १९५६ मा नेपाल राष्ट्र बैंकको पहिलो गभर्नरका साथै सन् १९६२ देखि १९६४ सम्म संयुक्त राष्ट्रसंघको न्यूयोर्कस्थित कार्यालयमा प्रोग्राम अफिसर/प्रोजेक्ट अफिसरका रुपमा काम गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स