१० करोड ऋण नउठेपछि जग्गा रोक्का गर्न लालुपाते बहुउद्देश्यीय सहकारीद्वारा मालपोतमा निवेदन

काठमाडौं । लालुपाते बहुउद्देश्यीय सहकारीका ऋणीहरूले १० करोड ऋण नतिरेर सहकारी बन्द भएपछि उनीहरूको जग्गा रोक्का गर्न मालपोत कार्यालयमा निवेदन दिएको छ ।

खोटाङको दिक्तेल बजारमा सञ्चालित सहकारी संस्थाको सञ्चालक समितिले ऋण चुक्ता नगर्ने आठ ऋणीको नाममा रहेको जग्गा रोक्का गरिदिन जिल्ला मालपोत कार्यालयमा निवेदन दिएको हो । सहकारीको ७४ ऋणी छन् । उनीहरूले न्यूनतम ३० हजारदेखि ७५ लाख रुपैयाँसम्म ऋण लगेको पाइएको छ । ७ वर्षअघि स्थापना भएको उक्त सहकारीमा एकै जनाले ५१ लाख रुपैयाँसम्म बचत खातामा जम्मा गरेका छन् ।

सहकारीको जग्गाबाहेक सावाँ ब्याजसहित करिब १० करोड ऋण लगानी रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । बचतकर्तालाई सावाँ ब्याजसहित करिब ७ करोड फिर्ता दिनुपर्ने देखिएको सञ्चालक समितिले जनाएको छ । सहकारीको नाममा खरिद गरिएको जग्गासमेत तत्कालीन अध्यक्ष जोशीको परिवार तथा आफन्तका नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

ऋण चुक्ता गर्न नआएको खण्डमा सोही चल–अचल सम्पत्ति बिक्री गरी असुल उपर गर्ने भन्दै सञ्चालक समितिले प्रदेश सहकारी ऐन, २०७६ को दफा ६९ को उपदफा–२ बमोजिम ऋणीको जग्गा रोक्का गरिदिन मालपोतमा निवेदन दिएको हो ।

रकम चुक्ता गर्नका लागि पटक–पटक पत्र पठाउँदा, फोन संवाद गर्दा र जमानीलाई पत्राचार गर्दासमेत चुक्ता नभएपछि सहकारीको यही माघ १३ गते बसेको बैठकको निर्णयानुसार पहिलो चरणमा आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन दिएको सञ्चालक समितिका सदस्य धनीराम नछुङले जानकारी दिए ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, सुनसरीले ऋण असुल गर्नका लागि सबै खालका कानुनी कारबाही गर्न माघ ३ गते पठाएको आदेशका आधारमा जग्गा रोक्काका लागि मालपोतमा पुगेको उहाँले बताए । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशी र व्यवस्थापक रुकु जोशीले बचत रकम अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । आफूहरूले थोपाथोपा गरेर जम्मा गरेको बचत रकम डुबेको भन्दै बचतकर्ता संघर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

‘बचत रकम फिर्ता गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ भएन,’ नछुङले भने ‘बचत फिर्ता गराउने विषयमा जिल्ला प्रशासन र नगरपालिकाले समेत कुनै चासो दिएन ।’ बचत रकम फिर्ताका लागि बचतकर्ता दैनिकजसो सहकारीको ढोका ढकढक्याउन कार्यालय पुग्ने गरेका छन् । बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समिति ऋण असुल गर्दै बचत फिर्ता गर्ने प्रयासमा जुटेको हो ।

वित्तीय कारोबारबाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ २०७२ मा दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको सञ्चालक समितिले जनाएको छ । सञ्चालक समितिले जग्गा रोक्काको सूचिमा परेका ऋणीको नाम र ठेगाना भने खुलाएको छैन ।

तत्कालीन अध्यक्ष जोशीको कोरोना भाइरसको संक्रमणका कारण २०७८ वैशाख १५ गते कास्कीको पोखरामा निधन भएको थियो । उनको निधनपछि निक्षेपकर्ताहरू निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो ।

जोशीको निधनपछि २०७८ वैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प छ । सहकारीमा जिल्लाका चार हजार पाँच सय बचतकर्ताले आ–आफ्नो आम्दानीअनुसार दैनिक बचत गरेका छन् ।

त्यसमध्ये तत्कालीन व्यवस्थापक रुकु जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको समितिले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स