काठमाडौं । कीर्ते ऋण काण्डमा पक्राउ पुँर्जी जारी भएका कामना विकास बैंकका सीईओ प्रविण बस्नेतले आज प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनले आत्म समर्पण गरेपनि अन्य १० जना भने फरार रहेका छन् । प्रहरीको अनुसन्धानलाई सघाउन भन्दै बस्नेतले आज आफै प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापामा कर्जा अपचलन गरेको प्रकरणमा जोडिएर प्रहरीले छानविन गर्न सीईओ बस्नेतसहित ११ जनाका विरुद्धमा पक्राउ पुर्जी जारी गरेको थियो । ३१ करोड रुपैयाँ कर्जा अपचलन प्रकरणमा सीईओ बस्नेतसहित दर्जन कर्मचारी, भ्यालुएटर र ऋणीलाई गत साता झापाको दमक प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको थियो ।
दमक प्रहरी कार्यालयका एक अधिकारीले भने ‘हामीले उहाँलाई नियन्त्रणमा लिएर हिरासतमा राखेका छौं । म्याद थपका लागि आज अदालतमा पेश गरेका छौं ।’ आत्मसमर्पण गरेका बस्नेतसँग प्रहीले उनको बयान लिईसकेको छ ।
३१ करोड रुपैयाँ बराबरको ऋण अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्र पठाएको थियो ।