बजारमा माग २०% देखि ७५% सम्म घटेको छ, उकुसमुकुसको वातावरण छः मनोज ज्ञवाली

काठमाडौं । अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिति कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा बढि बिक्छ । एक अर्कालाई दोषारोपण हुन्छ तर यसले समाधान कहिल्यै दिदैन । संयम, धैर्य, एक अर्कालाई साथ सहयोग र योजनासँगै हरेक संकटबाट बाहिर निस्किन सजीलो हुन्छ । विश्व आर्थिक अवस्थासँगै नालमा पनि आर्थिक अभावको स्थिति अझै छ । गाह्रो सबैलाई छ अनि पर्याप्त प्रश्नहरू उब्जिन्छ नै ।

सरकार पुरै संकलित आय रकमबाट चालु खर्च सम्म धान्न नसक्ने स्थितिमा छ, तलब भुक्तानी गर्न ऋणपत्र जारी गर्नुपर्ने स्थिति सहज होइन प्रजातन्त्र, लोकतन्त्र र संघीयताको यात्रासँगै पुँजीगत खर्च र चालु खर्चको अनुपात ५५ः४५ बाट घट्दै गएर २०ः८० भन्दा न्यून भैसकेको छ। कसरी सम्हाल्ने सरकारलाई गाह्रो छैन र ?

उद्यमी व्यवसायीहरूको स्थिर खर्च बढेको छ । तर, बजारमा माग २०% देखि ७५% सम्म घटेको छ । यसले गर्दा उकुसमुकुसको वातावरण छ । पुरानालाई त टिक्नु गाह्रो भैइरहँदा नयाँ उद्यमी आउन कसरी । देश आर्थिक रुपमा समृद्ध हुन्छ कसरी ? उद्यमी र उद्यमशीलतालाई टेवा दिन सकेनौ भने हामी बच्दछौ र बाँच्दछौ कसरी ? बैकिङको खुद मुनाफा त हेरेर कमेन्ट गर्छौ हामी तर वितरण योग्य नाफा धेरैको नकारात्मक वा न्यून छ । खराब कर्जा अप्रत्याशित रुपले बढेको छ । स्थिति सुधार नभएमा निक्षेपकर्ताको हित सम्म सुरक्षित हुन गाह्रो हुने स्थिति आउन सक्दछ ।

राष्ट्र बैंकले विनियमावली लागू हुनुपूर्व इजाजतपत्र लिएका विप्रेषण कम्पनीले तोकिएको चुक्ता पुँजी पुर्यायपश्चात मात्र विनियम ११ बमोजिमका कार्य गर्न सक्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंक विनियमावलीले गरेको व्यवस्था अनुसार पुँजी पुर्याएका कम्पनीले सहायक कम्पनी मार्फत्भुक्तानी सेवा प्रदायक वा भुक्तानी प्रणाली सञ्चालक सम्बन्धी कार्य गर्न पाउने छ । रेमिट्यान्स कार्ड जारी गरी विप्रेषण कारोबार गर्न पाउने छ भने राष्ट्र बैंकले तोके बमोजिमका अन्य कार्यहरू गर्न गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरको छ । उपविनियम (१) बमोजिमका कार्यहरू विप्रेषण कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले समेत गर्न सक्नेछन् ।

बैकिङ मा पैसा सबै नागरिकको छ हैन र ? बैकिङ विश्वास मा चल्छ र विश्वास गर्न यो डुब्दैन भन्ने स्थिति हुनुपर्छ हैन र ? बैकिङमा पैसा नहुँदा कि त व्यवसायीले ३६% देखि ४८% सम्म ब्याजमा पैसा लिई गर्जो टार्नु भयो सोच्नुस त ?
केहि सुधारका निर्देशन र नियमनले अर्थतन्त्रको अवस्थालाई स्थिर वा केहि सुधारतर्फ लगेको थाहा हुँदा हुँदै पनि नियामकहरूले तालि खानुपर्ने ठाँउमा समेत गाली खाने परिरहेको छ ।

सहि नियमनलाई साथ नदिने हो भने भोलिको स्थिति अझै बिग्रिन सक्दछ । नियमन कसलाई ‘अहा’ अनि ‘गज्जब’ लाग्छ र औषधि तितो नै हुन्छ । डाक्टरले दिएको औषधिले मुखै बिगार्यो । डाक्टरले यो खान रोक्यो उ खान रोक्यो भनेर गाली गर्ने कि रोग ठिक हुँदैछ, स्वस्थ हुँदैछु, आयु बढ्दैछ भनेर धन्यबाद दिने ?

युवाहरूमा काम गरौ भन्ने हुटहुटी छ, जोश छ, पढाइ छ तर सोचे झै अवसर नपाउने वातावरणले उनीहरूलाई अत्यन्तै नकारात्मक बनाइरहेको छ । तथ्य अनी तथ्यांक सहित वास्तविकता आफूले बुझेर अरूलाई समेत सम्झाउनु पर्ने यो जमात सामाजिक सञ्जाल, युट्युव र टिकटिक मा प्रचारित नकारात्मक सन्देशहरू का वाहक बनिरहेका छन् । यस्तै हुने हो भने उनीहरु संगै देशको भविष्य कहां पुग्दछ ? नागरिकहरूको आम्दानी घटेको छ, अवसरहरू घटेका छन् खर्च क्षमता घटेको छ तर महँगी बढेको छ । उकुसमुकुस हर घरमा छ हैन र ?

यति बेला संयम, धैर्य, एक अर्कालाई ढाडस/साथ/सहयोग अनी एक नागरिकको रुपमा मेरो सकारात्मक भुमिका के हुनुपर्छ भनेर हरेक पेशामा आवद्ध मान्छेहरूले सोच्नु पर्ने बेला पक्कै हो । नियामकले गाली खादै लिएका केहि निर्णयहरूले यो वर्ष केही आर्थिक सूचकांकमा सुधार आएका छन् । अगाडि का दिनहरू सुन्दर र समृद्ध हुन सक्दछन तर त्यहाँ सम्म पुग्न एक अर्कालाई साथ दिंउ ।

नकारात्मक भन्दा सकारात्मक सन्देश बढि चर्चामा ल्याउ । बाढी र भेलमा एक अर्कालाई समातेर बसियो भने बाढी कम भैहाल्छ सबै सुरक्षित होइन्छ एक अर्कालाई छिर्कि हान्न थाले कोही बाँचिदैन । यो समय सामाजिक, धार्मिक र पेशागत द्वेष फैलाउने बेला होईन । खरको छानो भएको बस्तीमा छौं हामी– छिमेकीको घरमा आगो लाउन खोजे हाम्रो घर पनि बच्दैन । छिमेकी घरमा आगो लागेको थाहा भएमा आफ्नो घरमा खान राखेको खाने पानी समेत हालेर आगो निभाउदा छिमेकीको नोक्सानी बच्दछ, बस्ती बच्दछ र आफ्नो घर पनि बच्दछ । गलतलाई तथ्य र तथ्यांक सहित गलत भनौ तर द्वेष फैलाउदै ताली खान खोज्नेहरूलाई ठाउँका ठाउँ ठिक पारौ–प्रोत्साहन गर्ने होईन ।

समस्या जताततै छन, आशाका किरणहरू पनि छन । बेइमानी र बेईमानहरूलाई खबरदारी गरौ तर सामाजिक, धार्मिक र पेशागत मर्यादा अनि सदभाव कायम राखौ-अहिले यो जरुरी छ । धेरै आर्थिक सूचकांकमा सुधार देखिएका छन्, आशाका किरणहरू देखिएका छन् ।

राम्रो काम गर्दा गर्दे अप्ठ्यारोमा परेकाहरूलाई साथ दिऊ, सहानुभूति राखौ, प्रोत्साहन गरौंस बेईमान र बदमासहरूलाई खबरदारी गरौं तर नकारात्मक सन्देश र द्वेष फैलाउदै ताली खान खोज्नेहरुलाई ठाउँका ठाउँ ठिक पारौ–प्रोत्साहन गर्ने होईन । समस्या छन् तर पार पाउँछौ भन्ने समस्या छन् तर पार पाउँछौ भन्ने आत्मविश्वास राखौ । ’होस्टेमा हैसै’ गरौं ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स