काठमाडौं । चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरू अपेक्षित जोखिम सिद्धान्त अनुरुप इम्पेरिमेन्ट जार्चको लागि ११ अर्ब ९ करोड ३८ लाख रुपैयाँ छुट्याएका छन् । बैंकहरूले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा इम्पेरिमेन्ट चार्जका लागि छुट्याएको रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९० प्रतिशतले बढी हो । बैंकहरूले गत आर्थिक वर्षको यो अवधिमा ३ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्जको लागि छुट्याएका थिए ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण प्रकाशित गरेका २० बैंकमध्ये एभरेष्ट बैंकको मात्रै इम्पेरिमेन्ट चार्ज घटेको छ भने अन्य सबै बैैंकको इम्पेरिमेन्ट चार्ज बढेको छ । यो अवधिमा ५ बैंकको इम्पेरिमेन्ट चार्ज अर्बभन्दा माथि छ भने अन्य १५ बैंकको करोडमा सीमित रहेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकहरूको खराब कर्जा २.२६ प्रतिशतले बढेको छ ।
बैंकहरूको खराब कर्जा बढ्दा इम्पेरिमेन्ट चार्ज बढेको बैंकर भुवन दाहालले बताए । ‘ बजारमा १ वर्षदेखि लगानी योग्य पुँजीको अभाव छ, सो कारणले कर्जाको ब्याजदर बढ्यो,’ उनले भने ‘ आर्थिक गतिविधि सुस्त हुँदा कर्जा लिएकाले बैंकको ब्याज तिर्न सकेनन् र त्यसले बैंकको इम्पेरिमेन्ट चार्ज बढायो ।’ बैंकहरूले केही गरी कर्जाको राइट टप गर्न पर्यो भनी खराब कर्जाको आधारमा यस्तो रकम छुट्याउनु पर्ने हुन्छ ।
सबैभन्दा बढी कृषि विकास बैंकको यो शीर्षकमा बढी रकम छुट्याएको छ । अपेक्षित जोखिमको सिद्धान्त अनुसार बैंकहरूले अपेक्षित नोक्सानको गणना गरेर त्यसबापतको रकम इम्पेरिमेन्ट लस शीर्षकमा जगेडा राख्नुपर्छ भन्ने अवधारणा छ । यो विषयमा बैंकहरूले सहुलियत खोजेका थिए । एउटा अहिले व्यवस्था भएको ‘अपेक्षित सिद्धान्त’ र अर्को ‘अपेक्षित जोखिम सिद्धान्त’ ।
अपेक्षित जोखिम सिद्धान्त अनुसार बैंकहरूले नोक्सानीको गणना गरेर त्यस वापतको चार्ज राख्नु पर्ने हुन्छ । सोही कर्जा नोक्सानीलाई व्यहोर्नको लागि बैंकहरूले यति धेरै रकम राख्नु परेको हो । कोभिडका कारण बैंकहरूले प्रवाह गरेका धेरै कर्जा ऋणीले तिर्न नसकेको अवस्थामा पुगेका छ । सो कारण बैंकहरूले यस्तो कर्जा वापतको नोक्सानी व्यहोर्न सो रकम छुट्याएका हुन् ।
चालु आर्थिक वर्षको यो दोस्रो त्रैमाससम्म कृषि विकास बैंकले सबैभन्दा बढी इम्पेरिमेन्ट चार्ज छुट्याएको छ । बैंकले यो अवधिमा २ अर्ब १७ करोड ६५ लाख रुपैयाँ सो शीर्षकमा छुट्याएको हो । बैंकले बढी इम्पेरिमेन्ट चार्ज वापतको रकम छुट्याउनु पर्ने भएकोले बैंकको नाफा अत्यन्त न्यून देखिएको छ । चालु आवको यो अवधिमा बैंकको कुल नाफा १२ करोड ८९ लाखमा सीमित भएको छ । गत आर्र्थिक वर्षको सो अवधिसम्म बैंकले यस्तो चार्ज वापत ६२ करोड १० लाख रुपैयाँमात्रै छुट्याएको थियो ।
नबिल बैंकको इम्पेरिमेन्ट चार्ज पनि बढेर १ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत आवसम्म बैंकको यतो चार्ज वापत ४० करोड १७ लाख रुपैयाँमात्रै छुट्याएको थियो । नबिल बैंकले बैंकमध्ये सबैभन्दा बढी नाफा कमाए छ । बैंकले चालु आवको पहिलो ६ महिनामा ३ अर्ब ४१ करोड ७६ लाख नाफा कमाएको छ ।
हिमालयन बैंकले पनि चालु आर्थिक वर्षको सो अवधिमा इम्पेरिमेनट चार्ज बढाएर १ अर्ब ४९ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ । बैंकले गत आवसम्म यस्तो चार्जको लागि ३७ करोड ११ लाख रुपैयाँमात्रै छुट्याएको थियो ।
सिद्धार्थ बैंकको इम्पेरिमेन्ट चार्ज पनि बढेर १ अर्ब १९ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत आवसम्म ७ करोड ११ लाख रुपैयाँमात्रै व्यहोर्नु परेको बैंकले यो वर्ष यो शीर्षकम टन्नै रकम छुट्याउनु परेको छ ।
सनराइज बैंकको पनि यो अवधिमा इम्पेरिमेन्ट चार्ज बढेर १ अर्ब ६ करोड १८ लाख रुपैयाँ नाघेको छ । गत आवको यो अवधिसम्म बैंकले जम्मा ३९ करोड ४९ लाख रुपैयाँमत्रै यो वापतको रकम छुट्याएको थियो ।