काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.३४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ५८ लाख रुपैयाँ रहेको छ ।
लघुवित्तले गत आर्थिक वर्षको तुलनामा व्यवसाय र नाफा दुबै बढाउन सफल भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५६.३४ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५२.४४ प्रतिशत बढेको छ । लघुवित्तको सञ्चालन मुनाफा ६२.८९ प्रतिशत बढेको छ ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ५८ पैसा बढेर १९ रुपैयाँ ७३ पैसा पुगेको छ । पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.९७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा रहेको छ ।
पछिल्लो ६ महिनामा लघुवित्तको चुक्ता पुँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष १०८.५३ प्रतिशत बढेको छ । लघुवित्तको सापटी २४.०३ प्रतिशत बढेको छ भने कर्जा २२.०६ प्रतिशत बढेको छ ।