बैंकहरूले ब्याजदर घटाए, कुन बैंकमा निक्षेप राख्दा बढी पाइन्छ ब्याज र कुनमा कर्जा लिँदा पर्छ सस्तो ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंक तथा वित्तीय संस्थाले आज प्रकाशित गरेको सूचनाअनुसार बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन् । बैंकहरूले प्रकाशित गरेको ब्याजदर समयावधिको हिसावले कम र बढी छ ।

कतिपय बैंकहरूले कर्जाको ब्याजदर समेत घटाएर प्रकाशित गरिसकेका छन् भने कतिपयले बेसरेटको आधारमा फिक्स गर्ने सूचनामा उल्लेख गरेका छन् । नेपाल राष्ट्र बैंकले पुराना कर्जाको ब्याजदर गणनामा त्रैमासिक रुपमा आधारदरको गणनाको व्यवस्था गरेअनुसार यथावत छ भने नयाँ कर्जाको ब्याजदर भने केही सस्तिएको छ ।

बजारको मागलाई सम्बोधन गर्नका लगि ब्याज घटाएको बैंकर्स संघले जनाएको छ । ‘कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८६ प्रतिशत हाराहारीमा आएको छ र बैंकहरूसँग २ खर्ब हाराहारी ऋण दिने क्षमता छ,’ संघले भन्यो ‘ब्याज महँगो भएका कारणले कर्जा प्रवाह त्यति हुन सकेको छैन अर्थात डिमाण्ड छैन । अर्थशास्त्रको सिद्धान्त अनुसार माग बढी भएको बेला ब्याजदर बढ्ने र कम भएको बेला घट्ने हो । सोही अनुरुप बजार निर्देशित भएको हो । आपूर्तिको सन्तुलन मिलाउन मूल्यमा ब्याजदर घटाएका हौं ।’

अब माघ महिनामा कुन बैंकका निक्षेप राख्दा बढी ब्याज पाइन्छ र कुन बैंकबाट कर्जा लिँदा सस्तो दरका पाइन्छ यहाँ उल्लेख गरिएको छ । कुमारी बैंकले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार ३ महिना वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत कायम गरिएको छ । रेमिट खाताको ब्याजदर १२ प्रतिशत कायम गरिएको छ भने ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरिएको छ । संस्थागत मुद्दति खातामा बिडिङ रेटअनुसार ०.५ प्रतिशतले बढाएर दिइने सूचनामा उल्लेख छ ।

नबिल बैंकले माघ पनि महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १ गतेदेखि लाूु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर घटेको छ । बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ९.४२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ ।

बैंकको मुद्दति निक्षेपमा ९ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको हो ।

बैंकले कर्जामा अकितम ६ प्रतिशतसम्म प्रिमियम शुल्क तोकेको छ । बैंकको असोज मसान्तसम्म आधारदर ९.४५ प्रतिशत रहेको छ भने स्प्रेडदर ४.०३ प्रतिशत रहेको छ ।

कुमारी बैंकको मंसिरको बेसरेट ११.१९ प्रतिशत रहेको छ । लोनको ब्याजदर बेस रेटको २ देखि ६ प्रतिशत प्रिमियम जोडेर आउने अंक बराबर गरिएको छ । कुमारी बैंकले लामो अवधिको कर्जाको ब्याजदर भने घटाएको छ । १ देखि ५ वर्ष अवधिको कर्जाको ब्याजदर १३ प्रतिशत, ५ देखि १० वर्षको १३.५० प्रतिशत, १० वर्षभन्दा बढी अवधिको कर्जाको ब्याजदर १३.७५ प्रतिशत कायम गरेको बैंकले उल्लेख गरेको छ ।

ग्लोबल आइएमई बैंकले पनि निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेको छ । बचत खाताको ब्याजदर ६.४२ देखि ८.४२ प्रतिशतसम्म कायम गरिएको छ भने मुद्दति निक्षेप तथा कल अकाउण्टको ब्याजदर र ३.२१ प्रतिशतसम्म तोकेको छ । ।

यो बैंकको असोजको बेस रेट १०.१९ प्रतिशत रहेको छ । अधिकांश लोनको ब्याजदर बेसरेटमा २.५० देखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर कायम गरिने सूचनामा उल्लेख छ । निश्चित अवधिका लागि स्थिर ब्याजदरतर्फ बैंकले विभिन्न लोन प्रडक्टमा ११.९९ देखि १४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले पनि माघका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, संस्थागतको ९ प्रतिशत र रेमिटयान्स खाताको १२ प्रतिशत कायम गरेको छ ।

रिकरिङ फिक्स्ड डिपोजिटतर्फ १२ महिनासम्मको ब्याजदर ११ प्रतिशत तथा ३३ महिना अवधिको ब्याजदर १० प्रतिशत कायम गरिएको छ । बचत खाताको ब्याजदर ६.४२ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्म कायम गरिएको छ ।

कल अकाउण्ट्सको ब्याजदर ३.२१ प्रतिशतसम्म कायम गरिएको बैंकले जनाएको छ । इन्भेष्टमेनट बैंकले कर्र्जाको ब्याजदरमा भने कुनै परिवर्तन गरिएको छैन ।

हिमालयन बैंकले पनि ब्याजदर घटाएर प्रकाशित गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको ११ र संस्थागतको ९ प्रतिशत कायम गरिएको छ । बैंकको दोस्रोे त्रैमासको बेसरेट घटेर १०.४३ प्रतिशत कायम भएको छ । लोनका विभिन्न प्रडक्टको ब्याजदर बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर कायम गरिने बैंकले जनाएको छ ।

फिक्स्ड प्रकृतिको लोनको ब्याजदर १४.६५ देखि १५.७५ प्रतिशतसम्म कायम गरिएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको मंसिरको बेस रेट ९.३० प्रतिशत रहेको छ । बैंकले लोनका विभिन्न प्रडक्टहरुको ब्याजदर आधारदरमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर निर्धारण गरेका कारण लोन लिँदा यो बैंकमा सस्तो ब्याजदर पर्ने देखिन्छ ।

यो बैंकले ५ वर्षसम्मको लोनको फिक्स्ड रेट ११.५० प्रतिशत, ७ वर्षसम्मका लागि १२ प्रतिशत, १० वर्षसम्मका लागि १२.५० प्रतिशत तथा १० वर्षभन्दा माथिका लागि १३ प्रतिशत कायम गरेको छ ।

अन्य वाणिज्य बैंकहरुले पनि निक्षेपको ब्याजदर पूर्व सहमतिअनुसार नै घटाएर प्रकाशित गरेका छन् ।

विकास बैंकले के गरे ?
माघ महिनाको लागि अधिकांश विकास बैंकहरूले समान ब्याजदर प्रकाशित गरेका छन् । विकास बैंकहरुले समेत ब्याजदर घटाएर प्रकाशित गरेका छन् । सांग्रिला डेभलपमेन्ट बैंकले माघ महिनाका लागि प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १२ प्रतिशत रहेको छ । यस्तै, संस्थागतको १० प्रतिशत कायम गरिएको छ ।

विकास बैंकहरुको लोनतर्फको ब्याजदर भने उनीहरुको बेस रेट फरक रहेका कारण सोहीअनुसार कायम गरिएको छ ।

मंसिर मसान्तसम्मको सांिगीला बैंकको आधार दर १२.६० प्रतिशत रहेको छ । यसकारण यो बैंकले लोनका विभिन्न प्रडक्टको ब्याजदर बेस रेटमा ८ देखि १० प्रतिशतसम्म प्रिमियम जोडेर कायम गरेको छ । बैंकको ७ वर्षसम्मको लोनको फिक्स्ड रेट १८ प्रतिशत तोकिएको छ ।

मुक्तिनाथ विकास बैंकको मंसिर महिनाको आधार दर १२.५९ प्रतिशत रहेको छ । आधार दरमा ७ प्रतिशतसम्म प्रिमियम जोडेर लोनका विभिन्न प्रडक्टको ब्याजदर कायम गरिएको छ

फाइनान्स कम्पनीमा कति पाइन्छ ब्याज ?
निक्षेप राख्दा वित्त कम्पनीहरुमा बढी ब्याज पाइनेछ । वित्त कम्पनीहरुले पनि आपसमा भएको सहमतिअनुसार नै माघ महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन् ।

उदाहरणको रुपमा नेपाल फाइनान्सको ब्याजदरलाई लिन सकिन्छ । यो कम्पनीले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

व्यक्तिगत मुद्दतितर्फ ३ महिना अवधिका लागि १२.१० प्रतिशत, ६ महिना अवधिका लागि १२.२० प्रतिशत, ९ महिनाका लागि १२.२५ प्रतिशत, १ देखि २ वर्षका लागि १२.३५ प्रतिशत, २ देखि ३ वर्ष अवधिका लागि १२.५० प्रतिशत र ३ वर्ष वा सोभन्दा माथि अवधिका लागि १३ प्रतिशत ब्याजदर कायम गरिएको छ ।

संस्थागत मुद्दतितर्फ पनि ३ महिनाका लागि १०.१० प्रतिशत, ६ महिनाका लागि १०.२० प्रतिशत, ९ महिनाका लागि १०.२५ प्रतिशत, १ देखि २ वर्षको लागि १०.३५ प्रतिशत, २ देखि ३ वर्षका लागि १०.५० प्रतिशत र ३ वर्षभन्दा माथिका लागि ११ प्रतिशत ब्याजदर कायम गरिएको छ ।

यो फाइनान्सले फिक्स्ड रेट समेत नयाँ सार्वजनिक गरेको छ । सोअनुसार ५ वर्षसम्मको होम लोनको फिक्स्ड रेट १६ तथा ५ वर्षभन्दा माथिको हकमा १७ प्रतिशत, पर्सनल अटो लोनको ५ वर्षसम्मका लागि १६ तथा त्यसभन्दा बढी अवधिको हकमा १७ प्रतिशत र अन्य रिटेल लोनका लागि पनि समान रेट कायम गरिएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स