काठमाडौं । राष्ट्र बैंकले मर्जर नीति लिएको पहिलो चरणमा ३२ वटा वाणिज्य बैंकबाट २२ मा बैंक झरेको छ । योसँगै कमजोर प्रफरमेन्स भएका बैंकहरूलाई राष्ट्र बैंकले मर्जरमा जान दवाव दिन थालेको छ । राष्ट्र बैंक आफैले पनि बैंकहरू तपाईहरू यो बैंकसँग मर्जर जान सहज हुन्छ भनेर आफैलेसल्लाह सुझाव पनि दिइरहेको छ । मर्जरको भेल आएको यो समयमा राष्ट्र बैंककै चासोमा सनराइज बैंक र लक्ष्मी बैंकले मर्जर सम्झौता गरेका छन् ।
यो सातामात्रै पुस २५ गते ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरमा गए । त्यसको भोलिपल्ट प्रभु बैंकले सेन्चुरी कमर्शियल बैंकलाई प्राप्ती गर्यो भने हिजो नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक एक आपसमा मर्जर भएका छन् । त्यसअघि कुमारी बैंक र एनसीसी बैंक मर्जरमा गएको थियो भने अब हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गर्दैछ । केहि दिन अघिमात्रै लक्ष्मी बैंक र सनराइज बैंक मर्जरमा जान सम्झौता गरेका छन् ।
यति बेला माछापुच्छ्रे, सानिमा, सिटिजन्स र सिद्धार्थ बैंकलाई पनि मर्जर जान राष्ट्र बैंकले सुझाइ रहेको छ । विशेष रुपमा माछापुच्छ्रे बैंकलाई प्रर्याप्त पुँजी कोष भएको बैंकसँग मर्जरमा जान राष्ट्र बैंकले दवाव दिएको छ भने अन्य बैंकलाई पनि यहि अनुसार मर्जर पार्टनर खोज्न राष्ट्र बैंकले भनेको छ । माछापुच्छ्रे बैंकको पुँजी कोष अनुपात नपुग्दा आम सेयरधनीले गत आवको नाफाबाट लाभांश वितरण गर्न पाएको छैन ।
माछापुच्छ्रे बैंकको हिजो सम्पन्न २८ गते २४औं वार्षिक साधारणसभाले पनि विशेष प्रस्तावको रुपमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति जाने प्रस्ताव पारित गरेकोे छ । साधारण सभाबाट मर्जरको विशेष प्रस्ताव पास हुनु भनेको चालु आर्थिक वर्षभित्रै मर्जरमा जाने रणनीति हो ।
हुन त मर्जरमा जान बाँकी माछापुच्छ्रे, सानिमा, सिटिजन्स, सिद्धार्थ र प्राइम बैंक पनि छन् । यद्यपि कान्छो पुस्ताका बैंक भनेर चिनिएका सानिमा र सिटिजन्स बैंक मध्ये एक माछापुच्छ्रे बैंकको मर्जर पाटर्नर बन्न सक्छन् । प्रर्याप्त पुँजीकोष भएको सिटिजन्स बैंकसँग मर्जरमा जान माछापुच्छ्रे बैंकलाई सहज भएपनि सिटिजन्स बैंकको अरुसँग मर्जरमा नजाने तर, उपयुक्त पार्टर पाए एक्विजिशन गर्ने स्पष्ट नीति कारण यो सम्भव देखिदैन ।
सो कारणले पनि माछापुच्छ्रे बैंकको उपयुक्त पार्टनर सानिमा बन्न सक्ने मोहोल बनेको छ । यद्यपि सानिमा बैंकमा गैर आवसियहरूको लगानी रहेको छ ।
नेपाल राष्ट्र बैंकले एक भन्दा बढी बैंक तथा वित्तीय संस्था संस्थापक हुन नपाउने व्यवस्था गरेको छ । एक बैंक तथा वित्तीय संस्थामा १५ प्रतिशत सेयर लगानी रहेको व्यक्तिले अर्को संस्थामा १ प्रतिशतभन्दा बढी संस्थापक सेयरमा लगानी गर्न पाउँदैन ।
सोही कारण सानिमा बैंकमा संस्थापक सेयरधनी रहेका हाल माछापुच्छ्रे बैंकका अध्यक्ष डा.उपेन्द्र महतो र उनका भाइ डा. विरेन्द्र महतोले ३ वर्षअघि सानिमा बैंकमा रहेका आफ्नो सेयर कर्मचारी सञ्चयकोषलाई बेचेका थिए । यसअघिसम्म डा.विरेन्द्र महतो माछापुच्छ्रे बैंकमा अध्यक्ष थिए ।
त्यसैले राष्ट्र बैंकको नियामकीय दबावमा मर्जरको बाटो खुला गर्न लागेको माछापुच्छ्रेले पार्टनर भने लगानीकर्ताको सहजताको आधारमा सानिमा बैंक बन्न सक्ने देखिएको छ । पछिल्लो पटक मर्जर लहरले विदेशी लगानीका बैंक र सरकारी बैंक भने छोएको छैन ।