नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपालको एकीकृत कारोबार सुरू, कुल पुँजी ५८ अर्ब भएको नेपालकै ठूलो बैंक

काठमाडौं । नेपालइन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपालको एकीकृत कारोबार सुरू भएको छ । आज पुस २७ गते यी दुई बैंक एक आपसमा गाभिएपछि ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक’को नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको हो।

एकीकृत बैंकका अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा ज्योति प्रकाश पाण्डे चयन भएका छन् । बुधबार बिहान बसेको संचालक समिति बैठकले पाण्डेलाई अध्यक्ष चयन गरेको हो ।

नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रजन्य राजभण्डारी, कवि कुमार टिब्रेवाला र मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदन कुमार आचार्य र मुक्ति राम पाण्डे रहेका छन् । त्यसैगरी साविक नेपाल इन्भेष्टमेण्ट बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा रहेकी मञ्जु बस्नेत अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहने छिन् ।

मर्जरपछि बन्ने बैंकको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नं १ दरबारमार्गमा हुने कम्पनीले जानकारी दिएको छ ।

मेगा बैंक नेपाल इन्भेष्टमेण्ट बैंकसँग १००ः९० को स्वाप रेसियोमा मर्जरमा जान लागेको हो । इन्भेष्टमेण्ट बैंकको कुनै सेयरधनीसँग १०० कित्ता सेयर छ भने उसको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन । अब मेगा बैंकको १०० कित्ता सेयर हुनेको घटेर ९० कित्ता हुनेछ ।

हाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १९ अर्ब ३ करोड र मेगा बैंकको १६ अर्ब ७६ करोड रूपैयाँ छ । मर्जर पछि बन्ने बैंकको चुक्तापुँजी ३५ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ । मर्जरपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब पुग्नेछ भने कुल पुँजी ५८ अर्ब भएको नेपालकै ठूलो बैंक भएको छ ।

त्यस्तै, कुल निक्षेप ३ खर्ब ६० अर्ब , कुल कर्जा ३ खर्ब २९ अर्ब पुग्ने छ ।

योसँगै बैंकको २ सय ७९ शाखा र ग्राहक संख्या ३० लाग पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स