माघबाट १.२१ प्रतिशतसम्म ब्याजदर घटाउने तयारीमा बैंक

काठमाडौं माघ १ गतेबाटै वाणिज्य बैंकहरुले ब्याज दर घटाउने भएका छन् । वाणिज्य बैंकहरूसँगै विकास बैंक र फाइनान्स कम्पनीले पनि ब्याज दर घटाउने भएका हुन् । बैंकहरूले माघ महिनामा १ देखि १.२१ प्रतिशतसम्म ब्याजदर घटाउने नीति लिने तयारी गरिरहेको बुझिएको छ ।

बैंक तथा फाइनान्स कम्पनीहरूले पहिला निक्षेपको ब्याज घटाउने छन् ,त्यसपछि कर्जाको ब्याज घट्ने छ । बैंकहरू पुस महिनामा भएको निक्षेप सकलन र बैंकको आधार दरको आधारमा निक्षेप तथा कर्जा दुबैको ब्याजदर घटाउने तयारी गरेका हुन् ।

नयाँ सरकार गठन भएपछि चौतर्फी रुपमा ब्याजदर घटाउने सेन्टिमेनट सिर्जना भएको छ । पछिल्लो समय बैंकहरूमा निक्षेप थपिदै गएको छ । सो कारण बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो पनि घट्दै गएको छ । अस्ति आइतबार ८६.४४ प्रतिशत रहेको सीडी रेसियो हिजो घटेर ८६.४० प्रतिशतमा झरेको छ ।

अघिल्ला महिनाको तुलनामा ऋणको ब्याज दर महँगो भएका कारण कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कम हुँदा पनि ऋण लगानी हुन सकिरहेको छैन । महँगो ब्याजका कारणले ऋणीले कर्जा लिन मानिरहेका छैनन् ।

उद्यमी व्यवसायीले सरकारदेखि अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर ब्याजदर घटाउन अनुरोध गरिरहेका छन् । यसको प्रेसरमा राष्ट्र बैंक परेको छ ।

अर्कोतिर नयाँ सरकार आएपछि एक खालको नयाँ माहोल सिर्जना भएको छ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सीमाभन्दा बढि उपयोग गर्नेहरुलाई तिर्ने समय साढे दुई वर्षसम्म दिएको छ । अर्कोतर्फ राष्ट्र बैंकलाई ब्याज दर घटाउने दबाब पनि छ । अहिले अधिकांश बैंकहरू ब्याज घटाउने पक्षमा छन् । केही भने पुसमा हुने तरलता प्रवाहलाई हेरेरमात्रै निर्णय लिने पक्षमा छन् ।

अहिले वाणिज्य बैंकहरूको साधारण मुद्दतिको ब्याज दर १२.१३३ प्रतिशत छ । बचतको न्यूनतम ब्याज दर अन्तर साधारण मुद्दतिभन्दा बढिमा ५ प्रतिशत बिन्दु हुनु पर्ने नियामकीय प्रावधान छ । यसो हुँदा साधारण बचतको ब्याज दर ७.१३३ प्रतिशत छ ।

राष्ट्र बैंकको नीति अुनसार मासिक १० प्रतिशत बिन्दुले ब्याज थप/घट गर्न पाइने व्यवस्था गरेको छ । यो शुत्र अनुसार मुद्दति तथा बचत निक्षेपको ब्याज दर १.२१ प्रतिशतले घट्ने छ । यसो हुँदा मुद्दतिको ब्याज १०.९२ प्रतिशत हुने छ । बचतको ब्याज दर पनि सोहि अनुपातमा घट्ने छ ।

प्रतिक्रिया

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स