अबको १ सातामा एकीकृत कारोबार गरिसक्नु पर्ने दवावमा बैंकहरू, कुन कुन बैंकको एकीकृत कारोबार कहिले ?

काठमाडौं । आगामी सोमबार अर्थात पुस २५ गते ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडाण्डूको एकीकृत कारोबार हुँदैछ । नेपाल राष्ट्रले सेवा सुविधा प्राप्त गर्नको लागि अर्थात सो सुविधा नगुमाउनका लागि बैंकहरू अहोरात्र खटिएर पुस महिनामै एकीकृत कारोबार गरि सक्ने तयारीमा जुटेका हुन् ।

मर्जरमा जाने सहमति गरेका कुमारी र एनसीसी बैंकले एकीकृत कारोबार गरिसकेका छन् । यसअघि नबिलले नेपाल बंगालादेश बैंकलाई गाँभेर एकीकृत कारोबार गरेको थियो । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू पुस २५ गते सोमबार एकीकृत कारोबार गर्नका लागि भोलि शनिबार र पर्सी आइतबार बैंकको सम्पूर्ण सेवाहरू बन्द गर्ने सूचना समेत जारी गरिसकेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, हिमालयन बैंक र सिभिल बैंकले पनि मर्जरको लागि तयारी गरिरहेका छन् । त्यसरी नै प्रभु बैंक र सेन्चुरी बैंक पनि यहि महिनाभित्र एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन् ।

चालु आर्थिक वर्षको पुससमम १० वटा बैंकहरू एकीकृत कारोबार गर्न तम्सिएका थिए् । योमध्ये कुमारी बैंक र एनसीसी बैंकको मर्जर प्रक्रिया सम्पन्न भइसकेको छ । प्रायः सबै बैंकहरुले पुसमसान्तलाई आफ्नो एकीकृत कारोबारका लागि अन्तिम प्रयत्न भन्दै आएका छन् ।

कुमारीले एनसीसी बैंकलाई गाभेपछि वाणिज्य बैंकको संख्या २५ मा झरेको छ । अब ग्लोबल र बैंक अफ काठमाण्डू मर्ज भएपछि वाणिज्य बैंकको संख्या २४ पुग्ने छ भने अर्का मर्जर प्रक्रियामा रहेका ६ वटा बैंक पनि एक आपसमा मर्जरमा गएपछि वाणिज्य बैंकको संख्या घटेर २१ मा सीमित हुने भएको छ ।

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । बैंक अफ काठमाण्डूको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १ सय कित्ता सेयर नै प्राप्त गर्नेछन् ।

मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बन्ने छन् । मर्जर पश्चात् बैंक अफ काठमाण्डूका सीईओ श्रवण लाल मास्के वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् ।

मर्जरपछि बन्ने ग्लोबल बैंकको सञ्चालक समितिको अध्यक्षमा चन्द्र ढकाल बन्ने छन् । ग्लोबल आइएमई बैंकबाट सञ्चालकहरूमा कृष्ण प्रसाद शर्मा, देवेन्द्र प्रताप शाह, क्याविनेट श्रेष्ठ र राम बहादुर भण्डारी नियुक्त हुने सहमति भएको छ । यस्तै बैंक अफ काठमाण्डूबाट राधेश पन्त र मदन लाल जोशीलाई सञ्चालक बनाउने सहमति भएको गरेको बैंकले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गते हुने तयारी भएको छ । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको १ कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे बन्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला मर्जरपश्चात् सञ्चालक बन्नेछन् । त्यस्तै मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य मर्जरपश्चात् सञ्चालक बन्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंकले एक जना सञ्चालक भने टुंगो लगाउन बाँकी रहेको छ ।

मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैंकले पाउने सहमति भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर प्रारम्भिक सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

हिमालयन बैंक र सिभिल
हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघ १८ गते हुने भएको छ । वार्षिक साधारणसभा सम्पन्न भएको ३ साताभित्र एकीकृत कारोबार गर्ने तयारी बैंकको छ । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघको १८ गते गर्ने तयारी छ ।

दुवै बैंकले मर्जर प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारणसभा बोलाएका छन् । हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ ।

मर्जरपश्चात् बन्ने हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई बनाउने सहमति भएको छ । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् । मर्जर पश्चात् हिमालयन बैंकको सञ्चालक समिति नै यथावत रहने भएको हो ।

मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका सीईओ अशोक राणा रहनेछन् । सिभिल बैंकका सीईओ सुनिल पोख्रेल मर्जरपश्चात् बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् ।

प्रभु र सेन्चुरी बैंक
प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार पुस २६ गते मंगलबार हुने भएको छ । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्जर हुन लागेका हुन् । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् ।

एकीकृत कारोबार प्रयोजनका लागि डाटा माईग्रेसन गर्न पुस २२ गते शुक्रबार राति १२ बजेदेखि पुस २६ गते बिहान पौने १० बजेसम्म दुवै बैंकको सम्पूर्ण सेवा बन्द रहने छ ।

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स