भुक्तानी सेवा प्रदायकको पनि तोकियो चुक्ता पुँजी, कस्ता कम्पनीको पुँजी कति ?

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको चुक्ता पुँजी तोकेको छ । राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकको न्यूनतम चुक्तापुँजी निर्धारण गरेको छ । राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने बैंक तथा वित्तीय संस्थाबाहेकका भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकको न्यूनतम चुक्तापुँजी निर्धारण गरेको हो।

राष्ट्र बैंकले आज भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ लागू गरेको हो । हाल राष्ट्र बैंकबाट तीन प्रकार भुक्तानी सेवा प्रदायकले अनुमति लिएका छन् । ती कम्पनीहरूको वर्गीकरण चुक्तापुँजीको आधारमा भएको छ ।

नयाँ नीतिअनुसार अब भुक्तानी प्रणाली सञ्चालकको अनुमति लिन चुक्तापुँजी ८० करोड रुपैयाँ हुनुपर्नेछ । नेपालमा जारी भएको भुक्तानी उपकरणमार्फत नेपालबाहिर समेत भुक्तानी कारोबार हुने गरी सञ्चालन हुने संस्थाले चुक्ता पुँजी त्याति हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

त्यस्तै भुक्तानी प्रणाली सञ्चालकले भने ४० करोड रुपैयाँ चुक्तापुँजी हुनुपर्ने राष्ट्र बैंकले निर्धारण गरेको छ । भुक्तानी कार्डसहित अन्य उपकरणहरुसमेत सञ्चालक गर्ने भुक्तानी सेवा प्रदायकको २५ करोड रुपैयाँ चुक्तापुँजी हुनुपर्ने छ भने कार्डबाहेक अन्य उपकरणहरु सञ्चालक गर्ने भुक्तानी सेवा प्रदायकको चुक्तापुँजी ५ करोड रुपैयाँ हुनपर्ने नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

यो नीति लागू हुनुअघि राष्ट्र बैंकबाट अनुमतिपत्र लिएका संस्थाको हकमा तोकिएको न्यूनतम चुक्तापुँजी २०८५ असार मसान्तसम्म कायम गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरु र विदेशमा स्थापना भई नेपालमा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई न्यूनतम चुक्ता पुँजीसम्बन्धी उपर्युक्त व्यवस्था लागू नहुने नीति राष्ट्र बैंकले ल्याएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स