बैंक अफ काठमाण्डूका तत्कालिन सीईओ अजय श्रेष्ठसहित कर्मचारीले पाए सफाइ

ऋणीलाई ३ वर्ष जेल सजायका साथै आधा करोड जरिवाना

काठमाडौं । उच्च अदालत पाटनले बैंक अफ काठमाण्डूका कर्मचारीलाई सफाइ दिएको छ । बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित बैंकका कर्मचारीले सफाइ पाएका छन् ।

नक्कली धितोमा ऋण लिएको अभियोगमा प्रहरीले २०७६ असोज ५ गते बैंक अफ काठमाण्डूका ११ जना कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको हो ।

नक्कली धितो राखेर बैंक अफ काठमाण्डूबाट साढे २ करोड रुपैयाँभन्दा बढी कर्जा लिएका ऋणी सुरेन्द्र श्रेष्ठलाई ३ वर्ष जेल सजाय र नगद जरीवानाको फैसला गरेको छ । बिहीवार उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र नरीश्वर भण्डारीको इजलाशले बैंकबाट कर्जा लिएका मुख्य अभियुक्त श्रेष्ठलाई ३ वर्ष कैद सजाय गर्दै ४९ लाख २५ हजार बिगो जरीवाना तोकेको हो ।

उच्च अदालत पाटनले ऋणी सुरेन्द्र श्रेष्ठसहित ६ जनालाई जेलसजाय र जरीवानाको फैसला गरेको छ । अदालतले ऋणी श्रेष्ठलाई मुख्य कसूरदार ठहर्याएको छ भने मतियार ठहरिएका भूपेन्द्र श्रेष्ठ, ऋषेश्वर थपलिया, प्रेमप्रसाद पाण्डे, कृष्णबहादुर कार्कीलाई समान १ वर्ष ६ महीना कैद र जनही २४ लाख ६८ हजार रुपैयाँ जरीवानाको फैसला गरेको छ ।

२०७६ सालमा बैंक अफ काठमाण्डूको कमलपोखरी शाखाप्रमुख प्रतीक श्रेष्ठको जाहेरीले नेपाल सरकार वादी रहेको बैंकिङ कसूरको मुद्दामा तत्कालीन सीईओ श्रेष्ठ तथा ऋणी श्रेष्ठसहित १६ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो । २०७१ सालमा व्यापारी श्रेष्ठले बैंक अफ काठमाण्डूबाट झापा जिल्लाको खोला छेउको जमिन धितो राखेर कर्जा लिएका थिए ।

उक्त कर्जाको साँवा र ब्याज भुक्तानी नभएपछि बैंक र सरकारी टोलीले खोजी गर्दा नक्कली धितो कायम गरिएको तथ्य फेला परेको थियो । सोही तथ्यका आधारमा ऋणी र बैंकका कर्मचारीले मिलेमतो गरी कर्जा लिएको दाबीका साथ मुद्दा दायर गरिएको थियो । मुद्दा दायर हुने बेला सीईओ श्रेष्ठले बैंक छोडिसकेका थिए ।

अदालतले बैंकका सबै कर्मचारीलाई सफाइ दिए पनि कर्जा लिँदा सघाउने ६ जनालाई भने कसूरको आधारमा फरकफरक सजाय गरेको छ । यद्यपि कर्जा मूल्यांकनकर्ताको भूमिका निर्वाह गरेका भेषराज खत्रीलाई १ वर्ष कैदको फैसला भएको छ ।

बैंकका कर्मचारीहरुले खोलाको जग्गा देखाएर नक्कली लालपुर्जा लिएर कर्जा स्वीकृत गरेका थिए । त्यसबेला ५ करोड रुपैयाँ रकम स्वीकृत भएको थियो । त्यति ठूलो रकम स्वीकृत गर्दा सीईओको पनि भूमिका हुने भन्दै श्रेष्ठ समेतलाई सीआईबीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारीलगायतका कर्मचारी रहेका थिए ।

पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारीलगायतका कर्मचारी रहेका थिए ।

२०७६ मंसिर ८ गते बैंक सीईओ श्रेष्ठ धरौटीमा रिहा भएका थिए । सर्वोच्च अदालतले श्रेष्ठलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । यसअघि पाटन उच्च अदालतले श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । उनीसँगै किरणकुमार बोहोरा पनि १ करोड रुपैयाँ धरौटीमा रिहा हुने भएका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स