बैंकहरूले ब्याजदर बढाए, कुन बैंकको कति ?

काठमाडौं । बैंकहरूले असोज महिनाको लागि निक्षेप तथा कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैकिङ प्रणालीमा तरलता अभाव हुन थालेका कारण अधिकांश बैंकहरूले ब्याजदर बढाएका हुन् । आज बिहीबार मात्रै १७ वटा वाणिज्य बैंकहरूले असोज महिनाको ब्याजदर सार्वजनिक गरेका छन् । केही बैंकहरूले भदौदेखि नै ब्याज बढाइसकेका छन् ।

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर असोज १ देखि लागू हुनेछ । कर्जा लगानीको तुलनामा निक्षेप संकलन नहुँदा पनि बैंकहरू कर्जाको ब्याजदर बढाउन बाध्य भएका हुन् ।

पछिल्लो समय बैंकहरूको अन्तरदर ब्याजदर समेत ५ प्रतिशत पुगिसकेका छ । अहिले अन्तर बैंक सापटी पाउन समेत मुस्किल भएपछि बैंकहरूले रिपो र एसएलएफमार्फत तरलता व्यवस्थापन गरिरहेको अवस्था छ ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कर्जा निक्षेप र पूँजी (सीसीडी) अनुपात खारेज गरेर कर्जा निक्षेप अनुपात (सीडी) लागू गरेको छ । पुरानो व्यवस्थाअनुसार कुल निक्षेप र पुँजीको ८५ प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था थियो । अब पूँजी गणना गर्न नपाउने गरी सीडी अनुपात लागू भएपछि बैंकहरुले कुल निक्षेपको ९० प्रतिशतसम्म मात्र लगानी पाउँछन् ।

अहिले बैंकिङ प्रणालीमा करिब १८ अर्ब रुपैयाँ मात्र तरलता रहेको अवस्था छ । बुधबार नै बैंक वित्तीय संस्थाले १३ अर्ब रुपैयाँ बरावरको वैधानिक तरलता सुविधा (एसएलएफ) प्रयोग गरेको अवस्था छ ।

कुन बैंकको कति ?

नबिलः असोज महिनामा नबिल बैंकले साधारण निक्षेपमा ४.२६ देखि ६.२६ प्रतिशत ब्याज दिने भएको छ । मुद्दती निक्षेपमा भने बैंकले ६.५१ प्रतिशतदेखि ९.२६ प्रतिशतसम्म ब्याज दिने बताएको छ । कर्जाको ब्याजदर भने बेस रेटमा १.५ देखि ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेको छ । नबिलको बैंकको बेस रेट साउन मसान्तसम्म ५.५२ प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक: राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले साधारण बचतमा ३.०६ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

बैंकले मुद्दती निक्षेपमा ८.०६ प्रतिशतसम्म ब्याज दिनेछ । कर्जातर्फ बैंकले आधारदरमा असार महिनाको आधारमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने जनाएको छ । बैंकको आधारदर ५.४१ प्रतिशत छ ।

नेपाल बंगलादेश बैंक : नेपाल बंगलादेश बैंकलले बचतमा ३.७६ देखि ४.७६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । मुद्दती निक्षेपमा बैंकले ८.७६ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । त्यस्तै बैंकले १ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने जनाएको छ ।

एनएमबि बैंक : एनएमबि बैंकले साधारण बचतमा ४.५२ प्रतिशत देखि ६.५२ प्रतिशतसम्म ब्याज दिने भएको छ । मुद्दती निक्षेपमा बैंकले ९.०२ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । कर्जातर्फ आधारदरमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम लिने जनाएको छ ।

कृषि विकास बैंक : सरकारी स्वामित्वको अर्को बैंक कृषि विकास बैंकले साधारण बचतमा ३.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले मुद्दती निक्षेपमा ८.६० प्रतिशतसम्म ब्याज दिनेछ । कर्जातर्फ बैंकले आधारदरमा असार महिनाको आधारमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने जनाएको छ । बैंकको असार मसान्तसम्मको आधारदर ७.१३ प्रतिशत छ ।

माछापुच्छ्रे बैंक : माछापुच्छ्रे बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा ८.२५ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । कर्जातर्फ भने बैंकले बेस रेटमा न्युनतम १ प्रतिशतदेखि अधिकतम् ७ प्रतिशत लिने जनाएको छ । बैंकको असार मसान्तमा बेस रेट ५.८० प्रतिशत रहेको छ ।

एनसीसी बैंक: एनसीसी बैंकले साधारण निक्षेपमा ४.२६ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा ९.२६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । कर्जातर्फ भने बैंकले बेस रेटमा न्युनतम् २ देखि ५ प्रतिशत ब्याज लिने जनाएको छ । बैंकको असार मसान्तमा बेस रेट ७.५७ प्रतिशत रहेको छ ।

सेन्चुरी : सेञ्चुरी बैंकले पनि साधारण बचतमा ४.२५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । मुद्दती निक्षेपमा भने बैंकले ८ प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले कर्जामा आधारदरमा ४.५० प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम व्याज लिने जनाएको छ । बैंकको साउनसम्मको आधारदर ७.५५ प्रतिशत छ ।

प्रभु : प्रभु बैंकले साधारण निक्षेपमा ३.२५ देखि ५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ८.२५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । कर्जातर्फ भने बैंकले बेसरेटमा २ देखि ७ प्रतितशसम्म प्रिमियम लिने बैंकले जनाएको छ ।

सिभिल बैंक: सिभिल बैंकले साधारण निक्षेपमा ४.२५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा ७.५५ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । कर्जातर्फ भने बैंकले बेस रेटमा न्युनतम् २ देखि ७ प्रतिशत ब्याज लिने जनाएको छ । बैंकको साउन मसान्तमा बेस रेट ७.८९ प्रतिशत रहेको छ ।

सनराइज : सनराइज बैंकले साधारण बचतमा ५.०७ प्रतिशत ब्याज दिने बताएको छ । मुद्दती निक्षेपमा भने बैंकले ५.०७ प्रतिशतदेखि १०.०७ प्रतिशतसम्म दिने जनाएको छ । कर्जाको ब्याजदर भने बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेको छ । घरकर्जा, अटो कर्जाको ब्याजदर १२.५० देखि १४.५० प्रतिशतसम्म तोकेको छ । सनराइज बैंकको बेस रेट साउन मसान्तसम्म ७.०१ प्रतिशत रहेको छ ।

प्राइम बैंक : प्राइम बैंकले साधारण निक्षेपमा ४.७६ देखि ५.७६ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा ८ देखि ९.७६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । कर्जातर्फ भने बैंकले आधारदरमा ६.९९ प्रतिशत ब्याज लिने जनाएको छ । बैंकको असारको बेस रेट ७.२१ प्रतिशत रहेको छ ।

हिमालयन बैंक : हिमालय बैंकले साधारण निक्षेपमा ४.२५ प्रतिशतदेखि ६.१५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ५ प्रतिशतदेखि ८ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । बैंकले कर्जातर्फको ब्याजदर प्रकाशित गरेको छैन् ।

सानिमा बैंक : सानिमा बैंकले साधारण निक्षेपमा ३ देखि ५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा ७ देखि १०.०१ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । कर्जातर्फ भने बैंकले आधारदरमा ७ प्रतिशत ब्याज लिने जनाएको छ । बैंकको साउन मसान्तमा बेस रेट ६.१४ प्रतिशत रहेको छ ।

एभरेष्ट बैंक : एभरेष्ट बैंकले साधारण निक्षेपमा ३.६१ प्रतिशतदेखि ४ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ६.५० प्रतिशतदेखि ८.६१ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । बैंकले कर्जातर्फ ९ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याज लिने उल्लेख गरेको छ । जसको साउन मसान्तसम्मको आधारदर ५.८५ प्रतिशत छ ।

स्ट्याण्र्डड चार्टर्ड बैंक  :स्ट्याण्र्डड चार्टर्ड बैंकले बचतमा २ देखि ४.५ प्रतिशत र मुद्दती निक्षेपमा ७.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले कर्जा प्रदान गर्दा आधारदरमा २ देखि ४.५ प्रतिशत प्रिमियम थपेर ब्याज लिने जनाएको छ । असार मसान्तको आधारमा बैंकको आधारदर ५.५१ प्रतिशत छ ।

नेपाल एसबिआई बैंक :नेपाल एसबिआई बैंकले साधारण निक्षेपमा ३.५५ प्रतिशत ब्याज दिने बताएको छ । मुद्दती निक्षेपमा भने एभरेष्ट बैंकले ४.५ प्रतिशतदेखि ८.५५ प्रतिशतसम्म दिने बताएको छ । कर्जाको ब्याजदर भने बेस रेटमा १.५ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेको छ एसबिआई बैंकको बेस रेट साउन मसान्तसम्म ७.३७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स