काठमाडौं । बजारमा लगानी योग्य रकम अभाव भएपछि नेपाल राष्ट्र बैंकले आज पुस १४ गते बिहीबार (आज) ५० अर्ब रुपैयाँ पठाउने भएको छ । राष्ट्र बैंकले बैंकले मौद्रिक उपकरण प्रयोग गर्दे रिपोमार्फत् उक्त रकम बजार पठाउन लागेको हो ।
सो रिपो आज अपराह्न २ बजे नै बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । माघ २९ गते अर्थात् ४५ दिनमा परिपक्व हुने गरी राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । साथै, बैंकिङ प्रणालीमा अधिक तरलता भएमा रिभर्स रिपोमार्फत् पैसा खिच्ने काम पनि गर्दछ ।
पुसभित्रै आयकरको पहिलो किस्ता भुक्तानीका लागि बैंकिङ प्रणालीबाट ठूलो रकम बाहिरिने गरेको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट राजस्वको रुपमा ठूलो पैसा जाने भएपछि रिपोमार्फत् ४५ दिनका लागि बैंकिङ प्रणालीमा तरलता प्रवाह गर्न लागेको हो ।
रिपोमार्फत ठूलो रकम बजारमा पठाएपछि तरलता व्यवस्थापनमा सहयोग पुग्ने अनुमान गरिएको छ ।